२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

अजय र पुजाको त्यो अन्तिम ११ मिनेट 

दुई महिनाकी छोरी बुवाको भिडियो कल पर्खिरहेकी छिन्

Nada
सपना बोहरा
२०८३ भदौ २७ गते १३:३८
Shares
अजय र पुजाको त्यो अन्तिम ११ मिनेट 

काठमाडौं : शुक्रबार कुशे औंसी । बुवाको मुख हेर्ने दिन । धनुषाको कमला नगरपालिका–६ का अजयप्रसाद सिंहकी दुई महिनाकी छोरीले भने बुवाको मुख हेर्न पाइनन् । अजय १६ दिनदेखि बेपत्ता छन् । 

भदौ १० मा रसुवामा आएको बाढीले अजयलाई उनी कार्यरत पावर हाउससहित बगाएको थियो । त्रिशूली हाइड्रो पावरको ठेकेदार कम्पनी यूटी डुसनमा कार्यरत उनी त्यसयता सम्पर्कविहीन छन् । 

दुई महिनाकी छोरी हरेक बिहान–साँझ बुवा खोज्छिन् । भिडियो कलमा बुवालाई हेर्ने उनको बानी थियो । अहिले बुवाको प्रतीक्षामा रुन्छिन् । काँखमा छोरी च्यापेकी पूजा श्रीमान्को प्रतीक्षामा छिन् । ‘हरेक बिहान छोरीको मुख नहेरी, नबोली दिनको सुरुवात हुँदैनथ्यो,’ उनले भनिन्, ‘छोरी सुतेको छ भने पनि उठाएर बोल्नै पथ्र्यो। अहिले छोरीले बुवा खोज्छिन्, म कसरी देखाउँ ?’

शुक्रबार धेरैले सामाजिक सञ्जालमा बुवाको फोटो राखेर शुभकामना दिए । पूजा भने श्रीमान् सकुशल फर्किऊन् भनेर भगवान्सँग प्रार्थना गरिरहेकी थिइन् । उनले फेसबुकमा लेखिन्, ‘आजको दिन मेरी छोरीलाई उनका बुबाको मुख देखाइदिनुहोस् । जसरी पनि, जहाँ हुनुहुन्छ त्यहाँबाट सकुशल मेरी छोरी र मेरो काखमा फर्काइदिनुहोस् । मेरी छोरीले आफ्नो बाबालाई भेट्ने सौभाग्य पाऊन् । भगवान्, आज मेरो एउटै प्रार्थना छ, मेरो छोरीलाई उनका बुबा फर्काइदिनुहोस् ।’

पूजाले श्रीमान्ले काम गर्ने पावर हाउस बाढीले बगाएको दृश्य फेसबुकमा देखेकी छन् । बाढी आउनुभन्दा ११ मिनेटअघि अजयसँग उनको कुरा भएको थियो । त्यसबेला अजय कार्यालयमै थिए । त्यसपछि सम्पर्क भएन । 

‘साइरन आउँछ, सुरक्षित छ’

त्रिशूली किनारमा क्याम्प बनाएर अजय काम गर्थे । कामको जोखिमबारे पूजा बेलाबेला चिन्ता गर्थिन् । ‘त्रिशूली साइडमै क्याम्प बनाएर बस्नुहुन्छ, कस्तो जोखिम छ ?’ उनले सोध्ने गर्थिन् । 

अजय उनलाई सम्झाउँथे, ‘त्यस्तो केही छैन, बाढी आउनुभन्दा पहिले साइरन आउँछ । सूचना र पूर्वकार्यहरू हुन्छन् । भाग्नुपरे गाडी भाडामा लिएर राखेका छौँ, सुरक्षित छ । अजयले भनेजस्तै बाढी आउनुअघि साइरन बज्यो कि बजेन् ? सूचना आयो कि आएन ? पूजालाई थाहा छैन । तर बाढीले अजयले काम गरिरहेकै पावर हाउस बगायो । 

अजयसँगको अन्तिम कुराकानी पूजाको मनमा बारम्बार आउँछ । ‘बाढी आएको त्यो अन्तिम ११ मिनेटको संवादपछि यति लामो दूरी हुन्छ भन्ने थाहा पाएको भए, अझ धेरै सचेत गराउँथेँ होला,’ उनले भनिन् । 

विवाह गरेर भर्खरै गृहस्थी बसाल्ने बेला यस्तो विपत्ति आउला भन्ने उनले सोचेकी थिइनन् । छोरीसँग बिताएका हरेक पल अजयले मोबाइलमा कैद गरेका थिए । अहिले तिनै तस्बिरले उनलाई झन् सताउँछन् । अजयको खोजीका लागि उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरेकी छन् । मन्दिरका देवीदेवता भाक्ने, प्रहरी प्रशासन र सरकारलाई दबाब दिने गरिरहेकी छन् । 

‘छोरीबिना एकछिन पनि बस्न नसक्ने मान्छे आज बेपत्ता हुनुहुन्छ,’ उनले भनिन्, ‘हाम्रो खुसीका लागि कमाउन जानुभएको तपाईंलाई यस्तो दिन भोग्नुपर्छ भनेर थाहा भएको भए, कहिल्यै जान दिन्थिनँ होला ।’

‘आशा मार्न सकिरहेकी छैन’

पूजाले मैलुङ बजार क्याम्प वरिपरिका सम्भावित क्षेत्रमा खोजी गर्न आग्रह गरेकी छन् । उनका अनुसार ठाडे गाउँ, राम्चे, ग्रान्ड, बटार, कालिकास्थान, धुन्चे, बोर्ले, यार्सा, मैलुङ डाँडा तथा आसपासका जंगल र पहाडी क्षेत्रमा समेत खोजी आवश्यक छ । सम्बन्धित कम्पनी, प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा राज्यका सबै जिम्मेवार पक्षलाई उनले खोजी तीव्र पार्न आग्रह गरेकी छन् । 
‘१० दिनसम्म पनि जीवित भेटिएका छन्, श्रीमान् पनि भेटिनुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘अपर त्रिशूलीमा कार्यरत मानिसहरूको खोज तथा उद्धारमा ढिलाइ भइरहेको छ । मैले आशा मार्न सकिरहेकी छैन ।’

पूजा दिनहुँ समाचार हेर्छिन् । उद्धारकर्मी घटनास्थल पुगे कि पुगेनन् भनेर खोजिरहन्छिन् । दुई महिनाकी छोरी भने अझै बुवाको भिडियो कल पर्खिरहेकी छन् । कुशे औंसीमा अरूका छोरीले बुवाको मुख हेरे । अजयकी छोरीले भने बुवाको मुख हेर्न पाइनन् । पूजा भने अजय फर्किने आशामा छोरीलाई सम्हालेर पर्खिरहेकी छन् । 
 

ताजा खबर

सम्बन्धित खबर