
उदयपुर : उदयपुरको बेलका नगरपालिका–८ आहालेमा वर्षापछि गएको पहिरोले एक घर बगाउनुका साथै तीन घर जोखिममा परेका छन् । पहिरोका कारण चार घरका ३२ जना विस्थापित भएका छन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार स्थानीय मेहरमान राईको घर पहिरोले पूर्णरूपमा बगाएको हो । शुक्रबार राति करिब ९ बजे घरसँगै बगेका मेहरमान भने बिहान गाउँको सम्पर्कमा आएका थिए । पहिरोबाट भागेर ज्यान जोगाउन सफल उनी रातभर जंगलमा बसेपछि बिहान गाउँलेको सम्पर्कमा आएका हुन् । पहिरोका कारण स्थानीय अरुणकुमार राई, बमप्रसाद राई र बिरसिंह राईको घरसमेत जोखिममा परेका छन् । तीनवटै घरमा बस्न सक्ने अवस्था नरहेपछि उनीहरूका परिवार सुरक्षित स्थानमा विस्थापित भएका छन् । पहिरोमा मानवीय क्षति भने भएको छैन ।
वडाध्यक्ष जयकुमार राईका अनुसार पहिरोबाट प्रभावित चारै घरका ३२ जनालाई सुरक्षित स्थानमा रहेको छिमेकीको घरमा राखिएको छ । बाटो खुलाएपछि पीडितलाई पालिकामार्फत राहतको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।
उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय घटनास्थलमा उद्धार तथा व्यवस्थापनमा खटिएका छन् । राति जोखिममा परेका घरका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम मात्रै गरिएको थियो ।
मेयर कार्की, वडाध्यक्ष राई, सुरक्षाकर्मी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार पहिरो करिब पाँच सय मिटर फराकिलो क्षेत्रमा जमिन फाटेर झन्डै डेढ किलोमिटर तलसम्म घरसहित बगेको छ । पहिरोका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपरेको वडाध्यक्ष राईले बताए । घटनाबाट भएको क्षति तथा उद्धारको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।