
नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ गेरमीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सीमा क्षेत्रमा बढ्दो लागुऔषध कारोबार तथा सेवन, तस्करी, सवारी दुर्घटना र सामाजिक विवाद नियन्त्रणका विषयमा स्थानीयले प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुरको आयोजनामा भएको कार्यक्रममा स्थानीयवासीले आफ्नो क्षेत्रका सुरक्षा समस्या, प्रहरी सेवासम्बन्धी गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा प्रहरीसमक्ष राखेका थिए । प्रहरी र नागरिकबीचको सहकार्यलाई प्रभावकारी बनाएर स्थानीयस्तरमै अपराध तथा सामाजिक विकृति नियन्त्रण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
इलाका प्रहरी कार्यालय महेशपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक शुभराज बमको अध्यक्षतामा भएको कार्यक्रममा पाल्हिनन्दन–५ का वडाध्यक्ष दयाशंकर त्रिपाठी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रहरी सहायक निरीक्षक लालमणि जोशी, प्रहरी सहायक निरीक्षक राजेन्द्र गौतमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
वडाध्यक्ष त्रिपाठीले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको रोटीबेटीको सम्बन्धलाई उल्लेख गर्दै सीमा क्षेत्रमा लागुऔषधको कारोबार तथा सेवन बढ्दै गएको बताए । यसको असर बालबालिका तथा युवाको भविष्यमा परिरहेको भन्दै उनले लागुऔषध नियन्त्रणमा प्रहरीलाई स्थानीय तह र समुदायबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
स्थानीय अशोक गुप्ताले सीमा क्षेत्रमा तस्करी बढ्दै गएको र तस्करीमा प्रयोग हुने सवारीसाधन तीव्र गतिमा गुड्दा दुर्घटनाको जोखिमसमेत बढेको बताए । उनले तस्करी नियन्त्रणसँगै सवारीसाधनको गति नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।
स्थानीयवासीले सामान्य झै–झगडा तथा सामाजिक विवादलाई सम्भव भएसम्म गाउँमै छलफल र मेलमिलापबाट समाधान गर्नुपर्ने बताए । साथै, विवादका घटनामा महिला र पुरुष दुवै पक्षको अवस्था बुझेर निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीयका गुनासा तथा सुझावलाई सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।