२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

खेम सेञ्चुरीको धमाकासहित माइती–चेली तिज सांगीतिक दर कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २७ गते २१:०४
Shares
खेम सेञ्चुरीको धमाकासहित माइती–चेली तिज सांगीतिक दर कार्यक्रम सम्पन्न

दोहा, कतार : नेपाली मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रवासमा माइती–चेलीको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित ‘माइती र चेली तिज सांगीतिक दर कार्यक्रम–२०२६’ शुक्रबार कतारको रेडिसन ब्लु होटेलमा भव्य रूपमा सम्पन्न भएको छ ।

आयुषा मेकअप, अल दाना सैलुन कतार तथा आयुषा सैलुन एन्ड एकेडेमी प्रा.ली. काठमाडौंको चौथो प्रस्तुतिका रूपमा आयोजित कार्यक्रममा कतारमा रहेका नेपाली महिला तथा समुदायको उल्लेख्य सहभागिता रहेको थियो । तिज नेपाली महिलाको महत्त्वपूर्ण सांस्कृतिक पर्व मात्र नभई माइती–चेलीबिच सुख–दुःख साटासाट गर्ने, आत्मीयता नवीकरण गर्ने र पुस्तौंदेखि चलिआएको मौलिक संस्कारलाई निरन्तरता दिने अवसरका रूपमा समेत लिइन्छ । प्रवासमा रहेर आयोजना गरिएको यस कार्यक्रमले नेपाली कला, संस्कृति, भेष भूषा, गीत–संगीत र पारिवारिक आत्मीयताको भावलाई एकै ठाउँमा जोडेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोक तथा दोहोरी गायक एवं सर्जक खेम सेन्चुरी बने । करिब साढे ८ बजे स्टेजमा उक्लिएका सेन्चुरीले डेढ घण्टा लगातार सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले ‘पानको पात’, 'सोचेझैँ जिन्दगी रैनच', 'कमाउने नि हो रमाउने नि हो' लगायत एक दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गरेका थिए । पछिल्लो समय लोकप्रिय बनेको ‘बाहुन बाजे’समेत प्रस्तुत गरेपछि कार्यक्रम स्थलमा उपस्थित दर्शक उत्साहित बनेका थिए ।

कतारमा दोस्रो पटक आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै सेन्चुरीले आफ्नो प्रस्तुतिका क्रममा नेपाली संस्कृति र तिजको महत्त्वसँगै नेपालमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले विपद्का बेला उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति दर्शकका तर्फबाट र आफ्ना तर्फबाट ताली बजाएर सम्मान व्यक्त गरे । जीवन निरन्तर चलायमान रहने भएकाले विपद्का कारण प्रभावित भए पनि निराश नभई अघि बढ्नुपर्ने सन्देश दिँदै उनले आफ्नो स्थानबाट उद्धार तथा राहतमा योगदान गर्ने सबैप्रति उच्च सम्मान व्यक्त गरे ।

कार्यक्रममा वीरेन्द्र कुमार श्रेष्ठ, जमुना श्रेष्ठ  मनिका गुरुङ, बिन्जु श्रेष्ठ, आस्था श्रेष्ठ, गंगा श्रेष्ठ, लक्ष्मी आले मगर, नम्रता मोक्तान, उपासना तामाङ, प्रीति श्रेष्ठ, पार्वती राजवंशी सहितका कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा काठमाडौंमा भर्खरै सञ्चालनमा आएको प्रशिक्षण केन्द्रको वेबसाइट सार्वजनिक गर्नुका साथै आयुषाको जीवन सङ्घर्ष र यात्रालाई समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । जीवनमा आइपरेका चुनौती पार गर्दै अघि बढेकी आयुषाको संघर्षलाई बृतचित्रमार्फत प्रस्तुत गरिनुले कार्यक्रमलाई मनोरञ्जनसँगै प्रेरणादायी आयामसमेत दिएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमकी सहसंयोजक आयुषा खड्काले राखेकी थिइन् । कार्यक्रमको सहजीकरण विजय राज अधिकारी, शारदा भुजेल र अनु सुवेदी बस्नेतले मिलेर गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यतामा ६० वर्षीय आमा इन्द्र कुमारी श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले तिजका अवसरमा सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकारप्रति कृतज्ञता व्यक्त गर्दै भव्य कार्यक्रम आयोजना गरेकोमा आयुषालाई धन्यवाद दिइन् ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष आयुषा श्रेष्ठ खड्काले प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । माइती र चेलीबिचको आत्मीय सम्बन्धलाई अझ नजिक ल्याउने तथा नेपाली पर्व र संस्कृतिप्रतिको पुस्तौंदेखिको आस्थालाई निरन्तरता दिने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । कार्यक्रममा भोटेकोसीका बाढी पहिरो पीडितका लागी केही रकम संकलन भएको र छिट्टै प्रधानमन्त्री राहात कोषमा पठाइने समेत जानकारी दिइन् । 

कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग पुनः जोड्नुका साथै तिजको सांस्कृतिक महत्त्वलाई जीवन्त बनाउने काम गरेको आयोजकको भनाइ छ । कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी, कलाकार, अतिथि, सञ्चारकर्मी, शुभेच्छुक तथा उपस्थित सम्पूर्ण दर्शकप्रति आयोजकले आभार व्यक्त गरेको छ । आयोजकले यस पटकका अनुभव र देखिएका कमी–कमजोरीलाई आगामी दिनमा सुधार गर्दै अर्को वर्ष अझ व्यवस्थित र प्रभावकारी कार्यक्रमसहित पुनः भेट्ने प्रतिबद्धता जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर