
रियाद : नेपाली कामदारहरुको महत्वपूर्ण श्रम गन्तव्य मानिने साउदी अरेवियामा सुरक्षा चुनौती बढ्दै जान थालेको छ । साउदी अरेबियाका तीन सहरमा यमनका हुथी विद्रोहीहरूको आक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमाथि सुरक्षा चुनौती बढेको हो । हुथीहरूको आक्रमणमा परी मंगलबारसम्म १३ जना साउदी नागरिक घाइते, सात घर र दुई सवारीसाधन क्षतिग्रस्त भए पनि नेपालीहरू सुरक्षित रहेका छन् । हुथीहरूले सोमबार खामिस मुसैत, आभा र तैफका नागरिक क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् । बारम्बार भइरहेका आक्रमणले तनाव बढाएको छ ।
नेपाली महावाणिज्यदूतावास, जेद्दाका अनुसार साउदीले आधिकारिक सुरक्षा निकाय तथा राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणालीमार्फत मोबाइल सन्देश तथा आधिकारिक सामाजिक सञ्जालमार्फत जेद्दा, मक्का, ताइफ, मदिना, आभा, यान्बु लगायतका क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षा जोखिम र खतरा बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महावाणिज्यदूतावासले आकस्मिक अवस्थामा जनधनको सुरक्षाका लागि स्थानीय सुरक्षा निकायले निर्धारण गरेका सुरक्षा मापदण्ड तथा निर्देशिका जारी गरेको परिप्रेक्ष्यमा विशेषगरी पश्चिमी क्षेत्रमा कार्यरत तथा बसोबास गर्ने नेपालीहरू सचेत हुनुपर्ने बताएको छ ।
महावाणिज्यदूतावासले चेतावनी जारी भएको अवस्थामा तत्काल नजिकैको पक्की घर वा भवनभित्र जान, भवनभित्र पनि झ्याल तथा सिसा नभएको भित्री कोठामा बस्न र जोखिम पूर्ण रूपमा नहटेसम्म बाहिर ननिस्कन आग्रह गरेको छ । साथै, झ्याल, सिसा, बाल्कोनी र छतबाट टाढा रहन पनि भनेको छ ।
त्यस्तै, गाडी चलाइरहेको अवस्थामा चेतावनी प्राप्त भएमा सवारीसाधनलाई पुल वा अग्ला भवनहरूबाट टाढा सुरक्षित सडक किनारमा पार्क गरी सुरक्षित स्थानमा ओत लिन, भिडभाड नगर्न तथा फोटो–भिडियो नखिच्न पनि आग्रह गरेको छ ।
संवेदनशील घटनाका फोटो, अडियो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने कार्य स्थानीय कानुनविपरीत हुने भएकाले यस्तो कार्यबाट पूर्णरूपमा टाढा रहन महावाणिज्यदूतावासले आग्रह गरेको छ । साथै, सामाजिक सञ्जाल वा अनधिकृत माध्यमबाट फैलिने अपुष्ट हल्ला तथा अफवाहको पछि नलागी साउदी नागरिक सुरक्षा एवं आधिकारिक सरकारी स्रोतका सूचनालाई मात्र पत्याउन पनि सुझाव दिएको छ ।