
काठमाडौं : नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको अर्थ समितिको बैठकमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकका सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दफावार छलफलबाट सर्वसम्मत निर्णय गरिएको बताए ।
उनले विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउनुपर्ने विषयमा सबै सदस्यहरूको सकारात्मक भावना रहेको उल्लेख गरे । समितिका निर्णयहरूकै आधारमा प्रतिवेदन तयार भएको भन्दै प्रतिवेदनमा समितिका बैठकबाट भएका निर्णयबाहेक अन्य विषयवस्तु समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको उनले बताए ।
सभापति बुढाथोकीले समितिका सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उनले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले गर्ने कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको बताए ।