२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बिमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया

Nada
२०८३ भदौ ३१ गते २१:१०
Shares
बिमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया

विराटनगर : नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ ।

ncell

नेपाल बिमा प्राधिकरण कोशी प्रदेश कार्यालयले बिमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो ।

अन्तक्रिया कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बिमा प्राधिकरणको परिचय, प्रमुख कार्यक्षेत्र, बिमाका प्रकार, बजारको अवस्था, बिमा प्रवर्धनका लागि गरिएको प्रयास र पत्रकारसँग प्राधिरणको अपेक्षा लगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

नेपाल बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारहरुले तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी बिमा सम्बन्धी गतिविधीलाई आम नागरिक माझमा पुर्‍याउनका लागि आग्रह गरे । उनले बिमासम्बन्धी सही र विश्वसनीय सूचना सर्वसाधारणसम्म पुर्‍याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले समाचार तयार गर्दा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्ने, तथ्यांकको स्रोत र अवधि स्पष्ट उल्लेख गर्ने तथा दाबी, आरोप, प्रतिक्रिया र वास्तविक तथ्यलाई छुट्टाछुट्टै प्रस्तुत गर्नुपर्ने धारण राखे । उनले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणले बिमितकै हितलाई ध्यान दिएर काम गरिरहेको जानकारी दिए ।

आवश्यक सम्पूर्ण कागजात पूरा गरेर बिमा दाबी भुक्तानी लिन जाँदा झन्झट व्यहोर्नु नपर्ने भन्दै उनले केही समस्या भएमा समाधानका लागि प्राधिकरण तयार रहेको बताए ।

सहभागीहरूले बिमासम्बन्धी खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्नुपर्ने र आवश्यक मात्रामा बिमा का विषयमा जनचेतना मूलक सूचना सम्प्रेषण गनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले जीवन बिमा र निर्जीवन बिमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बिमा क्षेत्रका विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सहयोग र सहकार्य गर्न सञ्चार क्षेत्र तयार रहेको धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बिमा प्राधिकरण लगायतले बिमाको पहुँच विस्तार र यसको प्रभावकारिताबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल बिमा प्राधिरणका सहायक प्रथम मिलन पोखरेलले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर