२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जापानमा दक्ष ड्राइभर पठाउन समझदारीपत्रमा हस्ताक्षर

Nada
२०८३ असोज १ गते ०६:२०
Shares
जापानमा दक्ष ड्राइभर पठाउन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : जापानी रोजगारदाता नेपाली सवारी चालक लैजान इच्छुक देखिएका छन् । जापानको अटोमोबाइल यातायात क्षेत्रमा नेपाली चालकहरूलाई रोजगारीका लागि पठाउने उद्देश्यले नेपाल र जापानका संस्थाहरूबीच बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेसमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

ncell

कार्यक्रमअन्तर्गत नेपाली सवारी चालक अनुमतिपत्र भएकाहरू नेपालमै जापानी भाषा, प्राविधिक तालिम तथा जापानी शैलीको चालक तालिम पूरा गरी दक्ष बन्नेछन् । जापानमा एसएसडब्लु अनुमति पाउन जापानी भाषा परीक्षा, सीप मूल्यांकन परीक्षा र जापानी सवारी चालक अनुमतिपत्र गरी मुख्य तीन क्षेत्रमा अब्बल हुनु आवश्यक मानिन्छ ।

नेपाली पक्षबाट तीन संस्थाले फरक–फरक भूमिकासहित नेपाली सवारी चालकलाई जापानी भाषा तथा अन्य पक्षमा सहकार्य गर्ने बताएका छन् । म्यानपावर कम्पनी मदर ब्रेन नेपाल प्रा.लि.ले भर्ना तथा प्रशोधन, युकिगुनी एजुकेसन कन्सल्टेन्सी प्रा.लि.ले जापानी भाषा तालिम र एन्टिक ड्राइभिङ स्कुलले चालक तालिमको जिम्मेवारी लिने घोषणा गरेका छन् ।

समझदारीपत्रमा जापानी पक्षबाट सिरो सोगावा तथा नेपाली पक्षबाट मदर ब्रेन नेपालका अध्यक्ष कृष्ण गिरी, युकिगुनी एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष राजकुमार तामाङ (आर.के.) र एन्टिक ड्राइभिङ स्कुलका सञ्चालक सरोज स्वाङ्गामिक्काले हस्ताक्षर गरे । कार्यक्रममा युकिगुनी एजुकेसनका प्रबन्धक अशोक लामा र जापानिज एजुकेसन ग्रुपका अध्यक्ष रुपसिंह तामाङको समेत उपस्थिति थियो ।

हस्ताक्षरकर्ता सिरो सोगावा जापानको अन्तर्राष्ट्रिय ड्राइभिङ एजुकेसन एसोसिएसन (आइडिइए)का अध्यक्षसमेत हुन् । जापानबाहिर सञ्चालन हुने जापानी शैलीको चालक तालिमलाई मान्यता दिने काम उक्त संस्थाले गर्दै आएको छ ।

सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार विभागको निर्देशनभित्र रहेर मात्र सञ्चालन गरिने उनीहरूले बताएका छन् ।

जापानले २३ हजार विदेशी सवारी चालक भित्र्याउने बताएको छ ।

पठाइने चालकको संख्या तथा समयतालिका, तालिमको संरचना तयार भई आवश्यक स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ । हाल जापानमा भारत, उज्वेकिस्तान, भियतनाम, बंगलादेश र इन्डोनेसियाबाट उल्लेख्य संख्यामा सवारी चालक गइरहेका छन् ।

५ वर्षे भिसा अवधि हुने सवारी चालकको रोजगारी जापानमा आकर्षक तलब पाउने रोजगारीअन्तर्गत रहेको सञ्चालक गिरीले बताए ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले निजी संस्थाहरूको सहकार्यमा जापानमा नेपाली सवारी चालक पठाउने तयारी गरेकोमा शुभकामना दिँदै नेपालीहरूले खाडी र मलेसियाको परम्परागत रोजगारीबाट बाहिर निस्केर नयाँ गन्तव्यको खोजी गर्नुपर्ने बताए । उनले संघले नयाँ गन्तव्यमा अनुमतिका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराइरहेको समेत जानकारी दिए ।

सम्बन्धित खबर