
काठमाडौं : बिहीबारबाट परेको अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुवानले धनजनको क्ष्ति भएको छ । विपद्मा परी हालसम्म बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायाण काफ्लेका अनुसार वर्षापछिको विपद्का कारण हाल सम्म ६ जनाको मानविय क्षति भएको हो । भौतिक तथा सम्पत्ति क्षतिसँगै देशभरको जनजीवन कष्टकर बनेको छ । वर्षाले पश्चित तराईमा बढी क्षति भएको छ । शनिबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन् । सप्तकोशी नदीको बाढी पसेर तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ वटा घर डुबानमा परेका हुन् ।
घर–घरमा एक्कासि बाढी पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ । बाढी घरमा पसेपछि वृद्धवृद्धा र बालबालिकालाई कोशीको पश्चिमी तटबन्धमा सुरक्षित स्थानमा राखिएको छ। बोदेबरसाइनस्थित सशस्त्र प्रहरीको बीओपीसमेत कोशीको बाढीले डुबानमा परेको छ । त्यस्तै नारायणी नदीमा आएको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्तीमा फसेका २९ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
शुक्रबार राति नै सुरक्षित स्थानमा बस्न आग्रह गरे पनि उनीहरू पशुचौपाया र घर छोडेर नहिडेपछि डुवानमा परेका थिए । बाढीले घर जलमग्न भएको र सुरक्षित स्थानसम्म आउन नसक्ने अवस्थामा रहेका २९ जनालाई खोजेर सुरक्षित ठाउँमा ल्याइएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले बताए । बाढीका कारण सो क्षेत्रका दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । शनिबार नारायणगढस्थित नारायणी नदी किनारमा बाढीको तह खतराको तह नजिक पुगेको छ । देवघाट जलमापन केन्द्रमा बाढीको तहले चेतावनीको विन्दु पार गरेर खतराको तह नजिक पुगेको देखाएको छ ।
नदीको सतह लगातार बढ्दै जाँदा शनिबार सिंगो सुस्ता बस्ती नै डुबानमा पर्यो । स्थानीय मन्सी कुमारका अनुसार बाढी बस्तीमा पसेपछि सयौँ घरपरिवार प्रभावित भएका छन् । अघिल्लो वर्षभन्दा बाढी ठूलो आएको र सशस्त्र प्रहरीको क्याम्पसमेत डुबानमा परेको छ । सशस्त्र प्रहरीले बस्तीभित्रै डुङ्गा चलाएर उद्धार गर्नुपर्ने अवस्था आएको छ । यो पानीको बहाव उच्च भएपछि पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका नेपाल र भारततर्फका सबै ढोका खोलिएको छ । ब्यारेजका ३६ वटै ढोका खोलिएको पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । यस नदीले पूर्वी नवलपरासीको कावासोतीको अमलटारी क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन् ।
उता कोशी नदीको बाढीमा डुबेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढामा एक बालकको मृत्यु भएको छ । शुक्रबार हजुरआमासँग घरबाहिर निस्केका सुरेश यादवका ५ वर्षीय छोरा विवेक यादवको बाढीमा डुबेर मृत्यु भएको वडाध्यक्ष कुशेश्वर यादवले बताए । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५२ र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३६ वटा ढोका खोलीएको छ ।
लगातारको वर्षापछि चुमनुव्री–३ पैयुमा पहिरो खस्दा लार्के सडक अवरुद्ध भएको छ । जगतबाट सिर्दिवास जाने सडकमा माथिबाट ढुंगा, माटोसहितको लेदो पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । सडक अवरुद्ध भएपछि आवागमनमा समस्या भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उता पोखरा मध्य भाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । अविरल वर्षसँगै सेती नदी बढेपछि रामघाटमा साँघुरो निकासका कारण ताल बन्न पुगेको हो । रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ । यहाँ वर्षातका बेला बर्षेनि ताल थुनिएर ताल बन्ने गर्दछ । नदी थुनिएर ताल बनेपछि नदी किनारका बस्तीहरू जोखिमा परेका छन् ।
उता साहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित राइनस बजारनजिकै फेरि पहिरो खसेको छ । निरन्तरको पहिरोले २५ घरधुरी रहेको राइनस बजारनै उच्च जोखिममा परेको छ । पहिरो खसेको ठाउाबाट राइनस बजार करिब २ सय ५० मिटरको दुरीमा रहेको छ । त्यस्तै कालीगण्डकी नदीको बहाब बढेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रिडीका सात घरपरिवारलाई उनीहरूको आफन्तको घरमा राखिएको हो । रिडी बजार नजिकै लामाचौपारीमा कालीगण्डकी नदीको बहाव बढेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।