
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्रशासकहरूले प्राप्त गर्ने ज्ञान, विवेक, आचरण र सेवा प्रवाहको शैलीले नै दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति र अनुहार प्रतिविम्बित गर्ने बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को ४४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक दक्षता विना राज्यले दिगो आर्थिक वृद्धि र प्रभावकारी सेवा प्रवाह हासिल गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
आइतबार ललितपुरस्थित प्रतिष्ठानमा आयोजित ४४औं वार्षिकोत्सव समारोहमा बोल्दै उपाध्यक्ष डा. भट्टले उत्पादन मात्र पर्याप्त नहुने भन्दै उत्पादकत्व अभिवृद्धिमा जोड दिए । विश्व अर्थतन्त्रलाई नेतृत्व गरिरहेका मुलुकहरूले अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरेको ठुलो लगानीकै कारण दिगो आर्थिक वृद्धि हासिल गरिरहेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि ज्ञानको आदानप्रदान र नवप्रवर्तनलाई प्रशासनिक संयन्त्रमा जोड्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिष्ठानले दिने प्रशिक्षणले सिंगो शासन व्यवस्थाको चरित्र निर्धारण गर्ने उनले बताए । ताप्लेजुङदेखि दार्चुला र काठमाडौंसम्मका आम नागरिकले प्रशासनिक प्रशिक्षणको गुणस्तरबाटै लाभ लिने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व कोषको रकम राजधानीमा मात्र केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्दै प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशत खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले वित्तीय साक्षरता र गरिबी निवारणमा उल्लेख्य योगदान पुर्याएको स्मरण गरे ।
प्रशासकहरूले विभिन्न दृष्टिकोणबाट विषयवस्तुलाई हेर्नुपर्ने र नीतिगत अडान लिन सक्नुपर्ने उनले बताए ।