२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

राष्ट्रिय सभामा सांसदहरूद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

Nada
२०८३ असोज १२ गते १५:०९
Shares
राष्ट्रिय सभामा सांसदहरूद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौँ : अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

ncell

पछिल्लो पटक असोज ८ गतेदेखि परेको वर्षाले पाल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै जनजीवन कष्टकर बनेको भन्दै सांसदहरूले तत्काल राहत, उद्धार र पुनर्निर्माणको माग गरेका हुन् । 

सोमवार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले बाढी-पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरे । सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पा जिल्लाको अवस्थाबारे जानकारी दिँदै १० वटै स्थानीय तहमा सडक अवरुद्ध भएको र दर्जनौँ घर पुरिँदा मानवीय क्षति भएको बताइन्  । उनले विशेषतः कालीगण्डकी नदीको कटान र केलादी, राम्दी लगायतका प्रमुख पुलहरू बगाउँदा यातायात र जनजीवन पूर्ण रूपमा प्रभावित भएको जानकारी दिइन् ।

सांसद सम्झना देवकोटाले मनाङ, मुस्ताङ र मर्स्याङ्दी नदी तटीय क्षेत्रको अवस्थाबारे चर्चा गर्दै २१ जनाभन्दा बढीको मृत्यु र सयौँ परिवार विस्थापित भएको तथ्यांक प्रस्तुत गरिन् ।

उनले भनिन्, ‘सरकारले पूर्वसूचना जारी गरे पनि बाढीको असर नसोचेको ठाउँसम्म पुगेको छ । अब आउने चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिम बढ्दो छ ।’ 

उनले मर्स्याङ्दी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोहीहरूको उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गरिन् ।

सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अविरल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाइन् ।

उनले भनिन्, ‘राहत सामग्री गोदाममै कुहिनु र पीडितले नपाउनु दु:खद् छ । तत्काल शिक्षा र स्वास्थ्यको अस्थायी व्यवस्थापन नभए बालबालिकाको भविष्य अन्धकार हुनेछ ।’

उनले मधेस प्रदेशमा समेत खाद्य र जल संकटको खतरा बढेको भन्दै दिगो पुनर्निर्माणको योजना ल्याउन सरकारलाई ध्यानाकर्षण गराइन् । सांसदहरूले राजमार्गहरू छिटो खुलाउन र विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी नपुगेको भन्दै दीर्घकालीन योजनाको खाँचो औँल्याएका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर