
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चीनको सीमामा रोकिएको सामान आयात गर्न तथा खाद्य आयात अनुमति सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २८ लाख रुपैयाँभन्दा बढी घुस लिएको अभियोगमा आयोगले कारबाही अघि बढाएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत अधिकृत अर्जुन अधिकारीले चीनको बोर्डरमा रोकिएको सामान आयातका लागि स्वीकृति दिने बहानामा ह्वाट्सएपमार्फत कुराकानी गरी घुस रकम माग गरेको अनुसन्धानबाट खुलेको छ ।
अधिकारीले अन्य प्रतिवादीहरू बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठको मिलेमतो तथा योजनामा कम्पनी, उद्योग र भन्सार एजेन्टहरूसँग खाद्य आयात अनुमतिका लागि रकम असुल गरेका थिए । सो घुस रकम प्राप्त गर्नका लागि उनीहरूले विभिन्न बैंक खाता तथा क्युआर कोडको आदानप्रदान गरेका थिए ।
अख्तियारको अनुसन्धान अनुसार विभिन्न बैंक खातामा गरी कुल २८ लाख २० हजार ३ सय ७५ रुपैयाँ घुस रकम दाखिला भएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर कायम गरी मुख्य प्रतिवादी र मतियारहरूलाई बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ ।
खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीलाई २८ लाख २० हजार ३ सय ७५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र सोही ऐन अनुसार बिगो बमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ । बसन्त कुमार बस्याल क्षेत्रीलाई ८ लाख ९४ हजार ५ सय रुपैयाँ बिगो कायम गरी मतियारको कसुरमा मुख्य कसुरदार सरह नै सजाय हुन मागदाबी गरिएको छ । सुरेश चौधरीलाई २ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदार सरह नै सजाय हुन मागदाबी गरिएको छ । यस्तै रश्मिता श्रेष्ठलाई १४ लाख ९३ हजार ३ सय ७५ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदार सरह नै सजाय हुन मागदाबी गरिएको छ ।