
काठमाडौँ : पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु वधशाला नभएका क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने बताएका छन् । जथाभाबी वध र जाँच नगरी मासु बिक्री गर्ने प्रवृत्ति रोक्न वधस्थलको व्यवस्थापन तथा निरीक्षण प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन, २०५५ को कार्यान्वयनसम्बन्धी छलफलमा दाहालले वध गरिएको पशुको मासु बिक्रीअघि जाँच गराउनुपर्ने बताए । रोग लागेको वा उपभोगका लागि अनुपयुक्त मासु बिक्री गर्न नहुने उल्लेख गर्दै उनले रोग लागेर वा अन्य कारणले मरेका पशुको मासु प्रयोग नगर्न आग्रह गरे ।
दाहालका अनुसार हरेक स्थानीय तहमा छुट्टाछुट्टै वधशाला आवश्यक नहुन सक्छ । मासुको माग, भौगोलिक अवस्था र सञ्चालनको सम्भाव्यता हेरेर वधशाला तथा वधस्थलको स्थान तय गर्नुपर्ने उनले बताए । काठमाडौँ उपत्यकाको माग पूरा गर्न कति वधशाला आवश्यक पर्छ भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
उनले सञ्चालनमा रहेका वधशाला र वधस्थललाई स्तरोन्नति गरी प्रयोगमा ल्याउन जोड दिए । ललितपुरको महालक्ष्मी नगरपालिकामा बङ्गुर वधशाला निर्माण अघि बढेको तथा खसीबोका वधका लागि उपयुक्त स्थान पहिचान गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी रहेको दाहालले जानकारी दिए ।
बुटवल, इटहरी र धादिङका वधशालाको अवस्था तथा सिन्धुलीमा निर्माणाधीन वधशालाबारे पनि छलफलमा जानकारी गराइएको थियो । मासुमा मिसावट र गलत पहिचानबाट उपभोक्ता ठगिने जोखिम रोक्न नियमित अनुगमन आवश्यक रहेको दाहालले बताए ।