
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसमा गरी उक्त रकम असुल गरिएको हो ।
विश्वविद्यालयका अनुसार अध्ययन बिदापछि सेवामा नफर्किएका तथा सेवामा फर्किएर पनि तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको छ । अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना समेत जोडेर असुल गर्ने व्यवस्था रहेको त्रिविले जनाएको छ ।
त्रिविले थप केसहरूको हिसाब–किताब तयार गर्ने तथा सम्बन्धित व्यक्तिका अभिलेख खोजी गर्ने कामसमेत जारी राखेको छ । उपलब्ध विवरणअनुसार हालसम्म हिसाब–किताब तयार भएका केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने रकम रहेको छ ।
विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।