
काठमाडौँ : नेकपा (एमाले)की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य, एजेण्डा र उपलब्धिको विषयमा संसदलाई जानकारी नगराइएको भन्दै उनले कार्यकारी प्रमुखको जबाफदेहितामाथि प्रश्न उठाएकी हुन् सांसद हमालले प्रधानमन्त्री केवल कार्यकारी प्रमुख मात्र नभई प्रतिनिधि सभाबाट निर्वाचित सदस्यसमेत रहेकाले हरेक गतिविधिमा सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन् । राष्ट्रसंघजस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा भ्रमणअघि र भ्रमणपश्चात् संसदलाई विश्वासमा लिने संसदीय अभ्यासलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ ।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्र हितका प्राथमिकताका बारेमा जानकारी गराउनु पर्दथ्यो । साथै, फर्किएपछि पनि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्त्वपूर्ण भेटवार्ताबारे संसद्लाई जानकारी गराउनुपर्ने संसदीय परम्परा हो ।’
उनले संसद्लाई जानकारी नदिई गरिने भ्रमणले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने बताउँदै सरकारको जबाफदेहितामाथि प्रश्न गर्नुभयो । सरकारको कामकारबाही पारदर्शी र संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले भविष्यमा यस्ता विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।