
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहित तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नं. १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरूङ, वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्द बहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूक बहादुर तामाङ गुरूङ, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष माधव प्रसाद पराजुलीविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
तत्कालीन रोजगार संयोजक न्यौपानेले सशर्त अनुदान बापतको उक्त रकम पेश्की लिएर अन्य प्रतिवादीहरूको खातामा जम्मा गराई तोकिएको कार्यक्रम सञ्चालन नै नगरेको पाइएको छ । कार्यक्रम सञ्चालन भएको कुनै पनि काम नदेखिएको र उक्त पेश्की रकम हालसम्म फरफारक समेत नगरिएको अख्तियारले जनाएको छ ।
यस्तै, तत्कालीन रोजगार संयोजक न्यौपानेले आफू रोजगार संयोजक पदमा बहाल रहँदा राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा २०७७ कात्तिक १ देखि सो कार्यालयबाट बर्खास्त भए पनि हालसम्म बरबुझारथ नगरेको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा उनीहरूविरुद्ध कैद, जरिवाना र बिगो असुलउपरको मागदाबीसहित आरोपपत्र दायर गरेको छ ।