२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

रौतहटमा १ लाख २० हजार थान नक्कली अन्तःशुल्क स्टिकर बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १७ गते १३:१०
Shares
रौतहटमा १ लाख २० हजार थान नक्कली अन्तःशुल्क स्टिकर बरामद

रौतहट : सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रणका लागि परिचालन गरिएको गस्ती टोलीले रौतहटमा ठूलो परिमाणमा मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर बरामद गरेको छ । भारतबाट नेपालतर्फ लुकिछिपी ल्याउँदै गरिएको १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

ncell

सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रबार दिउँसो ३:३० बजेको समयमा रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार कार्यालयको पछाडि रहेको धानबारी क्षेत्रबाट उक्त स्टिकर बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी सरमुजवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अचुत सुबेदीको कमान्डमा खटिएको टोलीले गस्ती गर्ने क्रममा भारतबाट दुई जना व्यक्तिले टाउकोमा कार्टुन बोकेर नेपालतर्फ आउँदै गरेको देखेको थियो ।

सीमा नजिकै सुरक्षाकर्मीको टोलीलाई देख्नासाथ ती व्यक्तिहरूले आफूले बोकेको कार्टुन धानबारीमै फालेर पुनः भारततर्फ भागेका थिए। भागेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिनुका साथै भारतीय समकक्षी सीमा सुरक्षा बलसँग समेत आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

६ रोलमा १ लाख २० हजार स्टिकर
धानबारीमा छाडिएको कार्टुन नियन्त्रणमा लिएर खानतलासी गर्दा ६ वटा रोलमा बेरिएको अवस्थामा अन्तःशुल्क स्टिकर फेला परेको हो । प्रत्येक रोलमा २० हजारका दरले कुल १ लाख २० हजार थान स्टिकर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

जाँचबुझका क्रममा बरामद स्टिकर नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने ५० यूपी, १८० एमएल क्षमताका मदिराका बोतलमा टाँस्न प्रयोग गरिने प्रकृतिको रहेको खुलेको छ ।

गौर भन्सार कार्यालयसँग गरिएको समन्वयअनुसार आर्थिक ऐनमा तोकिएको दरबमोजिम ५० यूपी, १८० एमएलको मदिरामा प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था छ ।

यदि यी स्टिकरहरू अवैध रूपमा मदिराका बोतलमा टाँसेर बजारमा पठाइएको भए राज्यकोषमा कुल १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको छ । समयमै सीमा क्षेत्रमा स्टिकर बरामद भएकाले सो परिमाणको राजस्व जोखिम टरेको छ ।

बरामद गरिएका सम्पूर्ण अन्तःशुल्क स्टिकरलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

घटनाका सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको र सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण, रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर