
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा भारत सरकारको सहयोगमा सुविधा सम्पन्न नगर अस्पतालको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका–५, देउरीमा आधुनिक साढे पाँच तले सुविधा सप्पन्न नगर अस्पताल निर्माण हुन लागेको हो ।
अस्पताल भवनको सोमबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
भारतीय सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण हुने अस्पताल भवनको कुल लागत मूल्य २४ करोड रुपैयाँ रहेको भए पनि भ्याटसहित १५ करोड ९८ लाख ४४ हजार २५६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी केएसएम सर्भिसेस–जेएसएस इन्जिनियरिङ सर्भिसेस जेभी, काठमाडौंले निर्माणको जिम्मेवारी लिएको छ । निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण सुरु गरिएको नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए । प्रमुख बस्नेतकाअनुसार माथिल्लो तलामा अस्पतालमा स्वास्थ्य उपचार, निदान, शल्यक्रिया, प्रसूति, नवजात शिशु सेवा तथा प्रशासनिक संरचनालाई ब्यबस्थित गरिनुका साथै तल्लो तलामा आकस्मिक सेवा, बिरामी दर्ता तथा प्रतीक्षालय, औषधि वितरण, एक्स–रे, यूएसजी, ईसीजीलगायतका प्रारम्भिक तथा निदानात्मक सेवाहरू रहनेछन् । पहिलो तलामा शल्यक्रिया तथा प्रसूति र नवजात शिशुसँग सम्बन्धित उपचार कक्ष, अपरेशन थिएटर, रिकभरी र सीएसएसडीजस्ता अत्यावश्यक सुविधाहरू रहनेछन् ।
त्यसैगरी, दोस्रो तलामा पुरुष, महिला तथा सामान्य वार्डसहित बिरामी भर्ना तथा उपचारका सुविधा रहनेछन्। तेस्रो तलामा दन्त, आँखा, सामान्य तथा प्रसूति–स्त्रीरोग सेवाका साथै खोप, पोषण, परामर्श र अन्य विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
चौथो र पाँचौं तलामा अस्पताल सञ्चालनका लागि आवश्यक सहयोगी, व्यवस्थापकीय तथा प्रशासनिक संरचना रहनेछन्। ती तलामा लन्ड्री, भण्डारण, पुस्तकालय, मेट्रोन कार्यालय, प्रशासन तथा वित्त शाखा र बैठक कक्षलगायतका संरचना समावेश गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार त्रियुगा नगर अस्पताल एउटा भवन निर्माण गर्ने परियोजना मात्र नभई आकस्मिक उपचारदेखि निदान, शल्यक्रिया, प्रसूति तथा नवजात शिशु सेवा, बाह्य तथा आन्तरिक उपचार र प्रशासनिक सेवासम्मलाई एउटै परिसरबाट उपलब्ध गराउने एकीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिनेछ ।
नगर अस्पताल निर्माण सम्पन्न भएपछि त्रियुगासहित आसपासका नागरिकले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म स्थानीय तहमै सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता र समयको सदूपयोगसँगै आर्थिक भारसमेत कम गर्ने नगरपालिकाले विश्वास लिएको छ ।