
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता भएका बाढी, पहिरोलगायत विपद्को व्यवस्थापनका लागि सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिरहेको भन्दै प्रदेश सरकारहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढिरहेको बताए । बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए ।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययन भइरहेको र त्यसका आधारमा थप व्यवस्थापनका काम अघि बढाइने जानकारी दिए। उनले विपद् व्यवस्थापनमा कुनै सम्झौता नगरी काम भइरहेको पनि बताए ।
उनले विपद्पछि उद्धार र राहतमा मात्र केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम अघि बढाइने उनले बताए ।
प्रधानमन्त्री शाहले विपद्का क्रममा आफ्नो ज्यान जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे । सरकारले विपद् व्यवस्थापनलाई खोज, उद्धार र राहतसँगै जोखिम न्यूनीकरण, पुनःस्थापना तथा भविष्यको पूर्वतयारीसँग जोडेर अघि बढाउने जनाएको छ ।