
काठमाडौँ : मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले पुल बगाएपछि अवरुद्ध आवागमन अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
चामेबाट माथिल्लो मनाङ जाने मार्गअन्तर्गत ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो ।
अस्थायी पुल निर्माण सम्पन्न भएसँगै उक्त मार्गमा आवागमन पुनः सुचारु भएको नेपाली सेनाले जनाएको छ ।
बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवतजावत प्रभावित भएको थियो । त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो ।
विपद्का कारण क्षतिग्रस्त पुलको स्थायी पुनर्निर्माण नहुँदासम्म अस्थायी पुलले स्थानीयको आवतजावत सहज बनाउने भएको छ ।