२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

निगमको ऋण व्यवस्थापनमा ब्याजदर पुनरावलोकन गर्ने तयारी

Nada
२०८३ असोज १९ गते १५:४३
Shares
निगमको ऋण व्यवस्थापनमा ब्याजदर पुनरावलोकन गर्ने तयारी

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको ऋण व्यवस्थापन सहज बनाउन ब्याजदर पुनरावलोकन र किस्ता भुक्तानीमा सहजीकरण गर्ने विषयमा सरकार छलफलमा रहेको बताएका छन् ।

ncell

सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले लिएको ऋण व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग संवाद भइरहेको जानकारी दिए । सर्वसाधारण र कर्मचारीको बचतसमेत जोडिएकाले लगानी सुरक्षित राख्दै निगमको वित्तीय अवस्था सुधार्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

निगमको करिब ५० देखि ५६ अर्ब रुपैयाँ बराबरको वित्तीय दायित्वलाई व्यवस्थापन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री पौडेलले ऋण पुनर्संरचना र ब्याजदरमा सहजीकरण भए निगमको नगद प्रवाह सहज हुने दाबी गरे । उनले निगमको मुख्य समस्या ऋण तथा ब्याजदर व्यवस्थापनमा रहेको उल्लेख गरे ।

तत्काल नयाँ जहाज खरिद गर्न स्रोत नपुगे भाडामा जहाज लिएर सञ्चालन गर्न सकिने विकल्प पनि उनले अघि सारे । सञ्चालनमा रहेका जहाजको उडान तालिका व्यवस्थित गरी आम्दानी बढाउन सकिने उनको भनाइ छ ।

ऋण व्यवस्थापन सहज भएपछि जहाज खरिद, भाडामा सञ्चालन र उडान व्यवस्थापनमा सुधार गर्दै निगमलाई प्रभावकारी बनाउने सरकारको योजना रहेको मन्त्री पौडेलले बताए । अर्थमन्त्री स्वदेश फर्किएपछि यस विषयमा थप छलफल गरी ठोस वित्तीय कार्ययोजना बनाइने उनले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर