
काठमाडौं : टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा नयाँ टिभिएस रेडर १२५ सिंगल सिट मोटरसाइकल सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रमका बीच यो नयाँ मोडल नेपाली बजारमा प्रस्तुत गरिएको हो ।
नेपालमा यो मोटरसाइकलको सुरुवाती मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो मोडल देशभरका आधिकारिक टिभिएस बिक्री केन्द्रहरूमार्फत उपलब्ध हुनेछ ।
नयाँ सिङ्गल-सिट भेरियन्टले रेडरको परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई कायम राख्दै दैनिक यात्राका लागि थप सहज र फराकिलो सिट उपलब्ध गराएको छ । यसले चालक र पछाडि बस्ने यात्रु दुवैलाई दैनिक आवतजावत तथा लामो दूरीको यात्रामा थप सुविधा प्रदान गर्दछ ।
यस मोटरसाइकलका प्रमुख प्राविधिक विशेषताहरू निम्न अनुसार छन् :
इन्जिन : १२४.८ सिसी
गियरबक्स : ५-स्पिड
डिस्प्ले : रिभर्स एलसिडी डिजिटल
लाइटिङ र प्रविधि : एलइडी लाइटिङ, युएसबी चार्जिङ र मोनोशक सस्पेन्सन
भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल, उपाध्यक्ष दीपक रौनियार, कलाकार कर्मा लामा तथा निश्छल अर्यालले संयुक्त रूपमा नयाँ मोटरसाइकल अनावरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवालले नयाँ सिंगल सिट भेरियन्टले युवा राइडरहरूलाई स्पोर्टी पहिचानका साथै थप आराम र दैनिक प्रयोगको सहजता प्रदान गर्ने बताइन् । त्यसैगरी, उपाध्यक्ष दीपक रौनियारले आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र व्यावहारिक प्रयोग चाहने युवा ग्राहकका लागि यो मोडल उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।