२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै

Nada
२०८३ असोज २१ गते १४:०९
Shares
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ : निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषय अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको पहिलो बैठक बुधबार बस्दै छ ।

ncell

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । पहिलो बैठकमा अध्ययनको कार्यक्षेत्र, आवश्यक कागजात तथा आगामी कामको प्रक्रियालगायत विषयमा प्रारम्भिक छलफल हुने समिति सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिले असोज १६ गते निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा परेको उजुरी अध्ययन गरी प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको थियो । उपसमितिलाई अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ ।

उपसमितिमा संयोजक झासहित सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।

नेपाल प्रहरीले गत माघमा प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिएका निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो । उक्त खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा निरन्तर प्रश्न उठाउँदै आएका थिए ।

पोसाक खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरीसमेत परेको थियो । त्यसपछि समितिमा तत्काल छानबिन अघि बढाउने वा पहिले तथ्य, कागजात र सम्बन्धित प्रतिवेदन अध्ययन गर्ने भन्ने विषयमा सांसदहरूबीच छलफल भएको थियो । अन्ततः मनिष झाको नेतृत्वमा अध्ययन उपसमिति गठन गर्ने निर्णय भएको हो ।

उपसमितिले पोसाक खरिदसम्बन्धी प्राप्त कागजात, सम्बन्धित निकायका विवरण तथा यस विषयमा उठेका प्रश्नको अध्ययन गरी मूल समितिमा प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले थप निर्णय लिनेछ ।

ताजा खबर

सम्बन्धित खबर