२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

छठको चटारो : रौतहटका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक १२ गते १७:०७
Shares
छठको चटारो : रौतहटका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

रौतहट : लोकआस्था सद्भाव र पवित्रताको पर्व छठ नजिकिएसँगै तराई-मधेशका अन्य जिल्लाजस्तै रौतहटका डोम समुदायको घरआँगनमा अचेल बेग्लै चहलपहल र जाँगर छाएको छ । छठ पर्वका लागि अत्यावश्यक मानिने बाँस तथा बेतका हस्तकला सामग्री तयार पार्न यहाँका डोम समुदायका परिवार बिहानैदेखि अबेर रातिसम्म खटिएका छन् ।

​छठ पर्वमा भगवान् सूर्यदेव र छठीमातालाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने डालो, नाङ्लो, सुपली (कोनिया), ढाकी र दुनाटपरी जस्ता परम्परागत सामग्रीको माग अत्यधिक बढेपछि स्थानीय डोम समुदायलाई सामग्री बुन्न भ्याइनभ्याइ भएको हो ।

​तराई संस्कृतिमा छठ पूजाका सामग्री राख्न प्रसाद सजाउन र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिन बाँसका चोयाबाट बनेका नयाँ चोखा सामग्री नै प्रयोग गर्ने सनातन परम्परा छ । प्लाष्टिक वा अन्य आधुनिक धातुका भाँडाकुँडाको प्रयोग बढ्दै गए तापनि छठ पर्वमा भने बाँसकै सामग्री अनिवार्य मानिने भएकाले यसको धार्मिक र सांस्कृतिक महत्त्व अझै अक्षुण्ण रहेको छ ।

​यही लोकपरम्पराले सीमान्तकृत डोम समुदायको पुस्तौँदेखि चल्दै आएको पुख्र्यौली पेसालाई प्रत्येक वर्ष छठको समयमा जीवन्त बनाउने गरेको छ ।

​पर्वको समयमा हुन सक्ने चाप र मागलाई ध्यानमा राख्दै रौतहटका डोम समुदायले असोज महिनाको सुरुवातमै बाँस खरिद गरी सामग्री बनाउन थालेका थिए । कात्तिक लागेसँगै बजार तथा गाउँघरबाट माग ह्वात्तै बढेकाले अहिले उत्पादनलाई तीव्रता दिइएको छ ।

​जिल्लाको सदरमुकाम गौर नगरपालिका-३ का ५० वर्षीय विनोद मलिकका अनुसार अन्य समयमा बाँसका सामग्रीको बिक्री फाट्टफुट्ट मात्र हुने भए पनि छठको मौसममा भने सोचेभन्दा राम्रो व्यापार हुने गर्छ ।

'छठ पर्व हाम्रा लागि दुःख-कष्ट बिर्सेर मीठो-मसिनो खाने नयाँ लुगा लगाउने र परिवारसँग खुसी साटासाट गर्ने अवसर हो,' मलिकले भने, 'दिनभरि मेहनत गरेर बनाएका सामग्री बिक्री भएपछि आउने रकमले परिवारको वर्षभरिको खर्च व्यवस्थापन गर्न ठुलो आड पुग्छ ।'

​स्थानीय सागर मलिकले छठका लागि मात्र नभई विवाह, व्रतवन्ध तथा अन्य धार्मिक सामाजिक कार्यका लागि पनि सामग्री तयार पारिने जानकारी दिए। तयार भएका सामान गाउँगाउँमा पुर्‍याएर तथा घरैबाट ग्राहकलाई बिक्री गर्ने गरिएको उनले बताए ।

​अहिले रौतहटका गौर, गरुडा, चन्द्रपुर, राजपुर, पथरा लगायतका विभिन्न पालिकामा बसोबास गर्ने डोम समुदायका घरआँगन बाँसका चोया, पाता र भर्खरै बुनिएका डालो-नाङ्लोले भरिएका देखिन्छन् । 

​कामको चटारो बढेपछि परिवारका बालबालिका युवादेखि ज्येष्ठ सदस्यसम्म आ-आफ्नो क्षमताअनुसार काममा बाँडिएका छन्। कसैले बाँस चिर्ने र तास्ने काम गर्छन् भने कसैले चोया निकाल्ने र सामग्री बुन्ने गर्छन् ।

​गौर-३ की ४० वर्षीया मन्जु देवी मलिक भन्छिन्, कात्तिक लागेपछि हाम्रा लागि खाने-सुत्ने समयबाहेक बाँकी समय चोयासँगै बित्छ । बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र सुपली बुन्नमै व्यस्त हुन्छौं । यो सिजनको आम्दानीले नै हाम्रा बालबालिकाको पढाइ र घरायसी गर्जो टर्ने गरेको छ ।

​छठ पर्वले डोम समुदायलाई आर्थिक रूपमा केही राहत दिलाए पनि वर्षभरि भने उनीहरूले अनेकन आर्थिक र सामाजिक चुनौती झेल्नुपर्छ ।

बाँसको मूल्य निरन्तर बढ्दै जानु र सहज रूपमा कच्चा पदार्थ नपाउनु प्रमुख समस्या बनेको छ,  बिचौलिया र बजारको उतारचढावका कारण डोम समुदायले आफ्नो कडा मेहनत र सीप अनुसारको उचित ज्याला पाउन सकेका छैनन्, छठबाहेक अन्य समयमा बाँसका सामग्रीको माग न्यून हुने भएकाले बाँकी समय जीवनयापन गर्न कठिनाइ हुने गरेको छ ।

​कच्चा पदार्थको व्यवस्थाप आधुनिक बजारीकरण र परम्परागत सीपको प्रवर्द्धनका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले सहयोग गर्नुपर्ने माग स्थानीयवासीको छ। बाँस शिल्पलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिए डोम समुदायको सामाजिक-आर्थिक स्तरमा ठूलो सुधार आउने देखिन्छ ।

​छठ पर्वको मिति नजिकिँदै जाँदा गौर लगायतका स्थानीय बजारहरूमा पूजाका सामग्री खरिद गर्ने श्रद्धालुहरूको चहलपहल अझै बढ्ने अनुमान गरिएको छ । सांस्कृतिक निरन्तरता र आर्थिक आत्मनिर्भरताको यो सङ्गमले महापर्व छठको मौलिकतालाई थप उज्यालो बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर