२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, संलग्नता अस्वीकार

Nada
२०८३ कार्तिक १२ गते १६:५४
Shares
इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति, संलग्नता अस्वीकार

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले आफूलाई जोडेर प्रकाशित समाचारहरू आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका हुन् । उनले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै चिनजान तथा सम्पर्क नरहेको पनि स्पष्ट पारेका छन् ।

‘जुन प्रसंग जोडेर मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिल्यै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दियो पोस्ट नामक सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएपछि शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले समाचारमा उल्लेख गरिएको घटनासँग सम्बन्धित मितिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा रहेको उल्लेख गरेका छन् । जनतामा भ्रम सिर्जना गर्ने उद्देश्यले आधारहीन समाचार प्रसारित गरिएको भन्दै उनले त्यसको भर्त्सना गरेका छन् ।

प्रकाशित समाचारअनुसार, विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा गरी एक लाख ७४ हजार रुपैयाँको कारोबार विवरण फेला परेको दाबी गरिएको छ । उक्त विवरणको तल मनोजकुमार शर्मा (चिफ जस्टिस), विश्व पोखरेल (ओखलढुंगा) र वंशी दाहालको नाम उल्लेख रहेको समाचारमा जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर