२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

इनमसँगको च्याटबारे न्यायाधीश फुयाँलको प्रष्टीकरण- आर्थिक, नैतिक र आचरणगत विचलित भएको छैन

Nada
२०८३ कार्तिक १२ गते १६:४८
Shares
इनमसँगको च्याटबारे न्यायाधीश फुयाँलको प्रष्टीकरण- आर्थिक, नैतिक र आचरणगत विचलित भएको छैन

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन दबाब दिन थालेपछि आफूहरूले नै सम्बन्धित निकायलाई जानकारी गराएको दाबी गरेका छन् । सापकोटासँगको कुराकानीका सन्देश सार्वजनिक भएपछि विवादमा तानिएका फुयाँलले आफू कुनै आर्थिक, नैतिक र आचरणगत विचलनमा नरहेको दाबी गरेका हुन् ।

बिहीबार केही सञ्चारमाध्यमले अनुसन्धानका क्रममा रहेका सापकोटा र फुयाँलबीच भएको कुराकानीका सन्देश सार्वजनिक गरेका थिए । सार्वजनिक सन्देशमा सापकोटाले ‘प्रधानमन्त्रीले रोहित गुप्तालाई थुनामै राख्नू’ भनेको उल्लेख गर्दै फुयाँललाई सन्देश पठाएको देखिन्छ । जवाफमा फुयाँलले गुप्तालाई धरौटीमा छाडिसकेको र साँझ ७ बजे होटल हिमालयमा भेट्नेबारे सन्देश पठाएको विवरण सार्वजनिक भएको छ । यही संवादपछि फुयाँलको भूमिकामाथि प्रश्न उठेको हो ।

पत्रकारहरूसँग कुराकानी गर्दै फुयाँलले सापकोटाले आफूलाई मात्र नभई अन्य न्यायाधीशलाई समेत सम्पर्क गरी मुद्दाका विषयमा कुरा गर्ने र दबाब सिर्जना गर्ने गरेको बताए । सापकोटाले प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रहरी महानिरीक्षक र प्रधानसेनापतिसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै न्यायाधीशहरूलाई आश्वस्त पार्ने गरेको उनको भनाइ छ ।

फुयाँलका अनुसार सुरुमा सापकोटाले स्वतन्त्र न्यायपालिका, सुशासन र भूराजनीतिका विषयमा कुरा गर्थे । पछि विभिन्न मुद्दामा चासो राख्दै न्यायिक प्रक्रियामा प्रभाव पार्ने आशयका सन्देश पठाउन थालेपछि आफूलाई शंका लागेको उनले बताए ।

‘मुद्दाको कुरा नगर्नुस्, हामीलाई अप्ठ्यारो पर्छ,’ आफूले सापकोटालाई भनेको उल्लेख गर्दै उनले न्यायिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास भएपछि सम्बन्धित निकायलाई जानकारी गराएको बताए ।

फुयाँलले सापकोटाबारे प्रहरी, प्रधानमन्त्रीको सचिवालय र प्रधानसेनापतिसमक्ष समेत विवरण पुर्‍याएको दाबी गरे । आफूहरूले दिएको सूचनाकै आधारमा अनुसन्धान अघि बढेको उनको भनाइ छ ।

उनले आफू आर्थिक, नैतिक र आचरणगत रूपमा विचलित नभएको दाबी गर्दै विवादका कारण सेवाग्राही, कानुन व्यवसायी, पत्रकार र आम समुदायमा भ्रम सिर्जना भएकोमा दुःख व्यक्त गरे । साथै, अनुसन्धानको मिसिलमा नभएको भनिएको कागजात कसरी बाहिरियो भन्ने विषयमा आश्चर्य व्यक्त गर्दै घटनाको निष्पक्ष र विस्तृत अनुसन्धान गर्न माग गरे ।

‘हामी दोषी देखियौँ भने त्यसका लागि तयार छौँ,’ फुयाँलले भने ।

ताजा खबर

सम्बन्धित खबर