२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

मूल्यवृद्धि र सरकारको कार्यशैलीप्रति सांसद केसीको असन्तुष्टि

Nada
२०८३ कार्तिक २७ गते १५:३३
Shares
मूल्यवृद्धि र सरकारको कार्यशैलीप्रति सांसद केसीको असन्तुष्टि

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो महँगी, राजनीतिक अन्योल र विपद् प्रभावितको पुनर्स्थापनामा भएको ढिलाइप्रति सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले चाडपर्वको समयमा समेत नागरिकमा खुसीभन्दा पीडा र निराशा बढी देखिएको बताएका छन् । रसुवा र नुवाकोटका बाढीपहिरो पीडितले ७५ दिन बितिसक्दा पनि पुनर्निर्माणको ठोस योजना नपाएको उनको भनाइ छ ।

केसीले पुनर्निर्माणका काम पीडितको सहभागिता र आवश्यकताका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । जोखिमको बहानामा नागरिकलाई आफ्नो थातथलोबाट जबर्जस्ती विस्थापित गर्न नहुने भन्दै सम्भव भएसम्म नजिकैको सुरक्षित स्थानमा सामूहिक पुनर्वासको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।

उनले क्षतिको निष्पक्ष मूल्यांकनका लागि तीनै तहका सरकार, पीडित समुदाय, प्राविधिक विज्ञ र सरोकारवालासहितको संयुक्त उच्चस्तरीय संयन्त्र बनाउन पनि आग्रह गरेका छन् ।

विपद् प्रभावितलाई राहत र पुनर्स्थापना उपलब्ध गराउनु राज्यको दया नभई संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै केसीले जाडो बढ्दै जाँदा पाल र अस्थायी टहरामा बसिरहेका नागरिकको तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राज्यले अझै गम्भीरता नदेखाए पीडितको आक्रोश सिंहदरबारसम्म पुग्ने चेतावनीसमेत उनले दिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर