२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

छठसँगै केराको भाउ बढ्यो

Nada
पिन्टु यादव
२०८३ कार्तिक २७ गते १६:३२
Shares
छठसँगै केराको भाउ बढ्यो

सप्तरी : छठ पर्व नजिकिएसँगै सप्तरीमा केराको मूल्य बढेको छ । छठ पर्वमा केराको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले बजारमा यसको माग बढेसँगै मूल्य पनि उकालो लागेको हो ।

जिल्लामा अहिले केरा प्रतिकिलोग्राम ७५ रुपैयाँका दरले खरिदबिक्री भइरहेको छ । त्यस्तै, एक घोर केराको मूल्य ८ सयदेखि एक हजार रुपैयाँसम्म पुगेको स्थानीय ग्राहकहरू बताउँछन् ।

गत वर्ष यही समयमा प्रतिघोर ३ सयदेखि ४ सय रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको केराको मूल्य यस वर्ष दोब्बरभन्दा बढी पुगेको छ । मूल्यमा भएको वृद्धिले छठ पर्वको तयारीमा जुटेका सर्वसाधारणलाई आर्थिक भार थपिएको छ ।

स्थानीय व्यापारीहरूका अनुसार यस वर्ष केरा उत्पादनमा कमी आएकाले बजारमा आपूर्ति घटेको छ । उत्पादनमा आएको कमी र छठ पर्वका बेला बढेको मागका कारण मूल्य बढेको उनीहरूको भनाइ छ ।

भारदह बजारमा बिक्री भइरहेको केरा उदयपुरको बेल्टारबाट आपूर्ति भइरहेको स्थानीय व्यापारीहरू बताउँछन् । स्थानीय उत्पादन पर्याप्त नभएकाले बाहिरी जिल्लाबाट केरा ल्याएर बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ ।

छठ पर्वमा केरालाई प्रमुख प्रसादका रूपमा चढाउने परम्परा छ । व्रतालु तथा श्रद्धालुहरूले पूजाका लागि केराको घरी खरिद गर्ने भएकाले यस समयमा यसको माग अत्यधिक हुने गर्छ । यही कारण छठ नजिकिँदै जाँदा केराको व्यापारसमेत बढ्ने गरेको छ ।

तर, गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य निकै बढेपछि उपभोक्ता प्रभावित भएका छन् । छठ पर्वका लागि आवश्यक सामग्री खरिद गर्दा महँगो मूल्य तिर्नुपरेको सर्वसाधारणको गुनासो छ ।

केराको उत्पादन, आपूर्ति र मूल्य निर्धारणको अवस्थाबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उपभोक्ताहरूको अपेक्षा छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर