
काठमाडौं : नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम सञ्चालनको उद्देश्यसहित क्युएसटी ट्रेनिङ सेन्टरले आफ्नो कार्य प्रारम्भ गरेको छ । राजधानीको गहनापोखरी नक्सालमा तालिम केन्द्र स्थापना गरेको क्युएसटी ट्रेनिङ सेन्टरले शुक्रबारदेखि औपचारिकरूपमा कार्य प्रारम्भ गरेको हो ।
सेन्टरले कतार र बाँकी विश्वको श्रम बजारमा उपयुक्त जनशक्ति उत्पादन गर्न नेपालमा व्यावसायिक तालिम, सीप विकास र अन्तर्राष्ट्रिय सिकाइ अवसरहरू उपलब्ध गराउने बताएको छ ।
अन्तर्राष्ट्रियस्तरको तालिमले रोजगार आकाक्षीहरूलाई सशक्त बनाउने, व्यावसायिक सीप विकास गर्ने र सीमापार अवसरहरू सिर्जना गर्ने संस्थापक तथा सिइओ यसमिन नाजले बताइन् । विगत १३ वर्षदेखि कतारमा बस्दै आएकी नाजले कतारको दोहामा क्युएसटी ट्रेनिङ सेन्टर एन्ड कन्सल्ट्यान्सी सञ्चालन गरेकी छन् । कतारमा काम गरेको अनुभवले उपयुक्त तालिम पाएको अवस्थामा नेपाली जनशक्तिले वैदेशिक रोजगारका क्षेत्रमा माथिल्ला पद र आकर्षक तलब पाएर वैदेशिक रोजगारको परिभाषा नै बदल्न सक्ने उनले बताइन् ।
कतार सिएसआर पुरस्कार २०२५, कतारका शीर्ष सय व्यवसायी २०२६, मध्यपूर्व, महिला विशेष संस्करण २०२६ पुरस्कार प्राप्त गरेकी नाज हिमालयन नेताहरू टोस्टमास्टर्स अध्यक्ष, कतारी व्यापार महिला संघ सदस्य र दोहा महिला मञ्च, कतारकी सदस्य पनि हुन् ।
उनले भनिन्, ‘आत्मविश्वास, निरन्तर सिकाइ, भावनात्मक बुद्धिमत्ता, वित्तीय जागरूकता र साहसले आत्मविश्वास र करुणाका साथ नेतृत्व गर्न मद्दत गर्दछ । तालिम त्यसैका लागि हो ।’
ट्रेनिङ सेन्टरले हेल्थ, सेफ्टी, सेक्युरिटी, प्रोफेसनल सर्टिफिकेसन, भाषा तथा डिजिटल सीप र ब्युटीफिकेसन जस्ता श्रम बजारका आवश्यकता अनुसारको तालिम दिने बताएको छ ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर इन्जिनियर समिर अलिले कतारको अनुभव अनुसार गुणस्तरीय तालिमका माध्यमबाट छुट्टै मानक स्थापित गर्ने उदेश्यले नेपालमा क्युएसटीको शाखा स्थापना गरेको बताए ।
कार्यक्रमलाई संस्थाका संरक्षक पूर्वप्रदेश सचिव लालबाबु कवारी, प्रोफेसर रमजान अली मियाँ, गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, दुबई नेप्लिज इन्फ्लुन्सिएल ग्रुपका इन्टरप्रेन्युअर फाउन्डर तथा फेन्सीवजिसिसी रिजनका प्रेसिडेन्ट मनोज मरहठ्ठा, मौलाना नजरूल हसनलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए । मौलाना रिजवानको धार्मिक प्रार्थनासँगै प्रारम्भ भएको औपचारिक कार्यक्रममा समिर अलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन मित्र खत्रीले गरेका थिए ।