२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

दसैं-तिहार : घुमफिरको समय

Nada
जीवन शर्मा
२०८३ कार्तिक २८ गते ०६:००
Shares
दसैं-तिहार : घुमफिरको समय

दसैं–तिहार नेपालीका लागि चाडपर्वसँगै घुमफिरको मौसम पनि हो । विद्यालय, कार्यालय तथा विभिन्न संस्थामा बिदा हुने भएकाले परिवार र साथीभाइसँग यात्रा गर्ने अवसर मिल्छ । पारिवारिक भेटघाट, मान्यजनबाट टीका–जमरा ग्रहण र आफन्तसँग समय बिताउनुका साथै नजिकका पर्यटकीय गन्तव्य घुमेर बिदा सदुपयोग गर्न सकिन्छ ।
लामो बिदामा घुमफिर गर्ने चलन नेपाली समाजमा बढ्दै गएको छ । यसले नयाँ ठाउँ चिन्ने, प्रकृतिसँग रमाउने र परिवारसँग अविस्मरणीय क्षण बिताउने अवसर दिन्छ । नयाँ गन्तव्यको भ्रमण र प्रचारले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्‍याउँछ ।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपालमा घुमफिरका अनेक सम्भावना छन् । हिमालका अग्ला चुचुरादेखि पहाडका हरियाली डाँडाकाँडा, तराईका समथर फाँट, तालतलैया, झरना, नदी र वनजङ्गलसम्मका विविधताले पर्यटकलाई आकर्षित गर्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको अन्तर्राष्ट्रिय पहिचान हो । विविध जातजातिका संस्कृति, धार्मिक स्थल, ऐतिहासिक सम्पदा र आत्मीय आतिथ्य पनि पर्यटनका महत्त्वपूर्ण आधार हुन् ।

पोखरा, चितवन, लुम्बिनी र सगरमाथा क्षेत्रजस्ता परिचित गन्तव्यसँगै देशका विभिन्न जिल्लामा रहेका स्थानीय ताल, ग्रामीण बस्ती, धार्मिक स्थल र प्राकृतिक क्षेत्र पनि घुमफिरका आकर्षक विकल्प हुन सक्छन् । यस्ता ठाउँको भ्रमणले स्थानीय आयआर्जन बढाउन र ग्रामीण पर्यटनलाई विस्तार गर्न सहयोग पुर्‍याउँछ ।

घुमफिर मनोरञ्जनमा मात्र सीमित छैन । यसले नयाँ ज्ञान र अनुभव दिन्छ, सामाजिक सम्बन्ध विस्तार गर्छ र दैनिक व्यस्तताबाट विश्राम दिलाउँछ । प्रकृतिसँग समय बिताउँदा मनमा ताजगी आउँछ भने परिवारका सदस्यबीचको आत्मीयता पनि बढ्छ ।

आन्तरिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । पर्यटकले होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला र अन्य सेवामा खर्च गर्दा स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्छन् । स्थानीय परिकारको स्वाद लिने, खेतीपातीबारे बुझ्ने र मौलिक संस्कृतिको अनुभव गर्ने अवसर पनि घुमफिरले दिन्छ ।

ग्रामीण पर्यटनका लागि नेपालका विभिन्न स्थानमा सञ्चालित सामुदायिक होमस्टे उपयोगी विकल्प हुन् । गण्डकी प्रदेशका गुरुङ तथा मगर बस्ती, पूर्वी नेपालका सांस्कृतिक गाउँ र तराईका थारू बस्तीले पर्यटकलाई स्थानीय जीवनशैलीसँग परिचित गराउन सक्छन् । होमस्टेमा बस्दा स्थानीय उत्पादन खरिद गर्ने, परिकारको स्वाद लिने र समुदायका नियम तथा संस्कृतिको सम्मान गर्ने अभ्यासले पर्यटनलाई दिगो बनाउन मद्दत गर्छ ।

यी हुन् घुमफिरका आकर्षक गन्तव्य

पूर्वी नेपालको इलाम चियाबारी, हरियाली र शान्त वातावरणका लागि परिचित छ । कन्याम, अन्तु क्षेत्र र आसपासका चियाबारीमा घुम्दै स्थानीय चियाको स्वाद लिन सकिन्छ । मौसम अनुकूल हुँदा अन्तुबाट देखिने सूर्योदयले पर्यटकलाई आकर्षित गर्छ । धनकुटा, भेडेटार र आसपासका पहाडी क्षेत्र पनि घुमफिरका उपयुक्त गन्तव्य हुन् । यहाँका ग्रामीण बस्ती र कृषि क्षेत्रले स्थानीय उत्पादन तथा परम्परागत जीवनशैली बुझ्ने अवसर दिन्छन् ।

ओखलढुंगाका थामडाँडा, स्रष्टापार्क, रुम्जाटार, चम्पादेवीस्थित ककनी, चिसापानी कोटगढी र मानेभञ्ज्याङको जुरेडाँडालगायतका क्षेत्र ग्रामीण पर्यटनका सम्भावना बोकेका गन्तव्य हुन् । ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने पत्ताले तथा जन्तरढाप क्षेत्रमा पुगेर होमस्टेमा बस्न र बुङको आलु, चौरीको छुर्पी, स्याउको जुस तथा भोटेलसुनजस्ता स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ । खोटाङको हलेसीसहित आसपासका ग्रामीण क्षेत्रमा पनि धार्मिक तथा सांस्कृतिक अनुभव लिन सकिन्छ ।

काठमाडौँ उपत्यका र आसपासका बासिन्दाका लागि छोटो तथा कम खर्चिलो यात्राका विकल्प प्रशस्त छन् । काभ्रेको नमोबुद्ध, पनौती र आसपासका ग्रामीण क्षेत्र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन् । नगरकोट र चन्द्रागिरिबाट मौसम सफा हुँदा उपत्यका र हिमाली शृङ्खलाको दृश्य देख्न सकिन्छ । मकवानपुरको चित्लाङ र कुलेखानी क्षेत्र पनि छोटो घुमफिरका लागि उपयुक्त छन् । चित्लाङको ग्रामीण वातावरण, स्थानीय कृषि उत्पादन र होमस्टेले पर्यटकलाई आकर्षित गर्छन् ।

पोखरा प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि प्रसिद्ध छ । फेवातालमा डुङ्गा सयर, तालबाराही मन्दिरको दर्शन, डेभिज फल्स, गुप्तेश्वर गुफा र सराङकोटबाट हिमाली दृश्यावलोकन यहाँका लोकप्रिय गतिविधि हुन् । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यले पोखरालाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाएको छ । यसबाहेक कास्कीका ग्रामीण बस्ती, अन्नपूर्ण क्षेत्रका पदमार्ग र स्थानीय होमस्टेले फरक अनुभव दिन सक्छन् । यहाँ स्थानीय खानपान, कृषि प्रणाली र जीवनशैलीसँग नजिकबाट परिचित हुने अवसर पनि पाइन्छ ।

वन्यजन्तु र जैविक विविधतामा रुचि राख्नेका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य हुन सक्छ । यहाँ जंगल सफारी, प्रकृति अवलोकन र थारू समुदायको सांस्कृतिक पहिचान अनुभव गर्न सकिन्छ । सुदूरपश्चिमका खप्तड क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि घुमफिरका विकल्प हुन् । खप्तडको विशाल घाँसे मैदान, शान्त वातावरण र जैविक विविधता यसको विशेषता हो ।

मुगुको रारा ताल नीलो पानी, हरिया वन र वरिपरिका डाँडाकाँडाका कारण मनमोहक गन्तव्य बनेको छ । रारा पुग्ने यात्रा आफैँमा विशेष अनुभव हुन सक्छ । कर्णालीका स्थानीय संस्कृति, पुराना बस्ती, धार्मिक स्थल र प्राकृतिक दृश्यले पनि पर्यटकलाई आकर्षित गर्छन् । पर्यटन विस्तारसँगै यहाँका परम्परागत खाना, हस्तकला र स्थानीय उत्पादनको बजार बढाउन सकिन्छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटनमा रुचि राख्नेका लागि लुम्बिनी महत्त्वपूर्ण गन्तव्य हो । भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वप्रसिद्ध लुम्बिनीमा मायादेवी मन्दिर, पवित्र उद्यान, अशोक स्तम्भ र विभिन्न देशले निर्माण गरेका बौद्ध विहार छन् । यहाँको भ्रमणले शान्ति, सहिष्णुता र मानवताको सन्देश दिन्छ । कपिलवस्तुको तिलौराकोटलगायतका ऐतिहासिक स्थलको यात्राले नेपालको प्राचीन सभ्यता र सांस्कृतिक सम्पदाबारे जानकारी लिन मद्दत गर्छ ।

दसैं–तिहारको घुमफिरलाई रमाइलो र सुरक्षित बनाउन यात्रा गर्नुअघि गन्तव्य, बजेट, मौसम र सडकको अवस्थाबारे जानकारी लिनुपर्छ । लोकप्रिय स्थलमा भीड हुन सक्ने भएकाले आवास र यातायातको व्यवस्था पहिल्यै मिलाउनु उपयुक्त हुन्छ । यात्रा गर्दा स्थानीय संस्कृति, प्रकृति र सम्पदाको सम्मान गर्दै फोहोर नगर्ने तथा स्थानीय उत्पादन र सेवाको उपयोग गर्ने बानीले पर्यटनलाई जिम्मेवार र दिगो बनाउन सहयोग गर्छ ।

चाडपर्वको बिदा आफन्तसँग भेटघाट गर्ने अवसर हो, साथै आफ्नै देशका नयाँ ठाउँ चिन्ने समय पनि हो । योजनाबद्ध घुमफिरले बिदालाई अविस्मरणीय बनाउनुका साथै स्थानीय समुदायको आयआर्जन र आन्तरिक पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउन सक्छ ।

laxmi recruitement

सम्बन्धित खबर