२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

गाईजात्रे लोकतन्त्रका ‘बा’हरू

ADV
२०८१ भदौ ५ गते ०६:३०
गाईजात्रे लोकतन्त्रका ‘बा’हरू

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’ 

थाइल्याण्डको प्रगति युवाहरूले गरेका हुन् र भर्खरै ३७ वर्षका सिनावात्राले लोकतन्त्रको प्रधानमन्त्री पद पाएकी छन् । युवाहरूले बङ्गलादेशलाई अहिले के गरे, सबैलाई अवगत छ । हाम्रो देशमा जनता पराजित छन्, बुढा बाहरू अपराजित । अहिले पराजित देखिएका नानीका बा पनि पहिले अपराजित नै हुन् र पछिल्लो चुनावको सावाँ–ब्याज यिनले उठाइसकेका छन् । पराजित जनता त खाडीमा छन् या बाहरूको जय–जयकार गाउँदै गर्दा धेरै बाकस बन्दी भएर फर्कँदै छन् । बा दर्जनौँ जनताले त्रिशूलीमा घुसुरमुण्टो खेले, आम्रो पूर्वाधारले बाहरूलाई चिन्न सकेको छैन र माटो छोप्ने विकास देखाइरहेको छ, विकास निर्माणमा भएको व्यङ्ग्य त त्रिशूली दुर्घटनामा गठित सरकारी संयन्त्रले आफैँ बोलेको छ ।

उन्नत र विकसित भनिएको चितवन र संघीयताको उन्नत सहर राजधानी काठमाडौँको १०० किमी वरपर ठुला दुई गाडीहरू हराउँदा कैयन दिनमा पनि फेला पार्न नसक्ने ‘लोभ तन्त्र’ बोकेको देश हो हाम्रो ? न नाकैमा हवाई विमान दुर्घटना हुँदा बचाउन नै सकियो । गठाघर प्रकरण पनि दिउँसै भएको थियो । अहिले सत्ता विरोधी केही युवाहरूले बानेश्वरको बार नाघेर संसद भवन पुग्ने लक्ष्य लिएका छन्, बूढा बाहरूले कुनै नागरिक सुरक्षा दिन नसकेको झोँकमा । नेतृत्व साटासाटका लागि हँसिलो मुहारमा शीतल निवास पुगेका बाहरूमा देशको वर्षा र मनसुनको पीडा बोध देखिएन । जनतालाई भुलभुलैया देखाउन बानेश्वरको विशाल हलमा असार २८ गते ‘लोकतन्त्र’को नयाँ रिहर्सल भयो । भाषा सेवी भानुभक्तको भोलिपल्टको जन्मजयन्ती पनि फिका देखियो, अझ शिक्षा मन्त्रालयको टिप्पणी आदेश र प्रज्ञा भवनको नेपाली भाषा, व्याकरण सिध्याउने रणनीतिलाई अदालतले संशोधन गर्नु परेको देख्दा, संयोग पनि कस्तो, जुन दिन अदालतले एक बालाई ठिक तीन वर्षअघि सत्ताबाट बहिर्गमन गरेको थियो, अर्का बालाई आगमन गराएको थियो त्यसै दिन । धेरैले भनेका छन् ‘कागलाई बेल पाकेर हर्ष न विस्मात्’ तर, बढी घाटा परेको छ बाका सन्तानहरूलाई अहिले । पुराना बाहरूले लोकतन्त्रको पुस्तान्तरण गर्दैनन् भन्ने कुरा नयाँ सन्ततिलाई याद भएन र भएको साखलाई पनि जोगाउन सकेनन् यिनले, कोही छानबिनमा छन् त कोही कारागारमा । हामी पुराना पुस्ताले सिकाएको अनुशासनका कारण नयाँ पुस्तालाई । 

त्यसो त ‘बा’ शब्द पछाडि पर्नु नै लोकतन्त्रको शोभा छ, अगाडि परेका बालेनसँग लेनक्रशको भारी सावाँ–ब्याजसमेत फिर्ता गराउने पक्षमा छन् पछाडिका बाहरू । यसको गतिलो प्रमाण त बिजुलीका पोल पोलमा स.वि. लेख्दै लोकतन्त्रले नेपाली सभ्यताको विनाश गरेकोबाटै स्पष्ट हुन्छ । सामाजिक सुरक्षा भन्दै ७६ तिर ओली बा बिजुलीको पोल–पोलमा झुन्डिएका थिए । पेन्सन होल्डरको समेत आइडी खोज्दै नेसनल बनाउन खोज्ने र कोठामा बसिखाऊ भन्दै बूढाबूढीलाई मासिक चार हजार रकम उपलब्ध गराउने बाहरूको लोकतन्त्र सबैतिरबाट धेरै विरोध आएपछि आइडी खोजी कार्यबाट पछि हटेको हो, तर मागिँदै छ र भत्ता नवीकरण हुन सकेको छैन अझै । राष्ट्र सेवक जसले वर्षौँ सेवा गरेर पेन्सन लिए, त्यो लिन पनि अब आइडी चाहिएको छ र रोकिएको अवस्था छ । मानौँ ठुलो स्वरमा दुई मिटर अघि बढेको जस्तो गरेर चार मिटरको ब्याक गियर लगाउने लोकतन्त्रले ६२ सालअघिका सहयात्रीलाई सत्ता सुम्पेको छ, अहिले । 

अघिल्ला बाहरूको मिलेमतोमा पछिल्ला बालाई केही झड्का महसुस भए पनि पहिलाका बाहरूको प्रेरणाले नै पछिका बाको बोलवाला भएको हो । यसो भनौँ तीन बाहरू नै नेपाली लोकतन्त्रका पर्याय हुन् । दुनियाँलाई देखाउन गरिएको हो यो दृश्य मात्र हो, वास्तवमा तीन बा एउटै ढ्याङ्गका मूला हुन् र एकसे एक चोचोमोचो मिलेको छ उनीहरूको । जुन कुराको पुष्टि बानेश्वरको हलमा एक बाका सन्तानले तपाईँ पनि बस्ने कोठा यही हो, अन्त जान सक्नु हुन्न भनेबाटै हुन्छ । अझ स्वर्ग र नर्कसँगै जाने हो भन्ने कुरोले पनि स्पष्ट हुन्छ । बाहरूको भाषा मात्र फरक हो काम र तिनको कार्यशैलीमा भिन्नता छैन, देउवा, ओली बा र नानीका बामा खासै भिन्नता छैन र लोकतन्त्रले देशमा सुधार, सुशासन वा विपत्तिबाट जोगाउँछ भन्ने सोच गर्नु भनेको दिउँसै सपना देख्नु सरह हो । 

प्राकृतिक प्रकोपले देशमा संकटकाल घोषणा गरी सबै संयन्त्र विपत्तिविरुद्ध एकजुट हुनुपर्ने असारको त्यो हप्ता लोकतन्त्र भने शीतल निवास, बालुवाटार, बानेश्वर र सिँहदरबारमा रुमल्लिइरहेको देखिन्थ्यो र राहत कार्य योजना, दैवी प्रकोपविरुद्धको नयाँ–नयाँ रणनीति फलाक्ने गृह मन्त्रालय नै बानेश्वरको हलबाट बहिर्गमन हुँदै थियो । बाहरूको नजरमा ०४६ सालदेखि लोकतन्त्र सक्रिय भएको देखिए पनि सन्ततिहरूको नजरमा लोकतन्त्र मूर्छित छ, बाकै कारण बानेश्वर दुईपल्ट प्रत्यक्ष नै मूर्छित परेको हो । लोकतन्त्रलाई कोमामा पुर्‍याउने ओली बाको हातमा सत्ता साँचो अहिले फेरि पुगेको छ, अर्का देउवाले शीतल निवाससँगै गएर यो कार्यको सबुद दिएका छन् । यो त औपचारिकता मात्रै हो खासमा त त्यति बेलै भाउजूसहित देउवा गएर बालकोटका बार्दली बालाई लोकतन्त्र सुम्पिसकेका थिए । ओली बाको प्यारो सन्तान पनि अब नानीका बा तिरको ६३ मततिर देखिनुले धर्मपुत्रमाथि पनि अविश्वास स्पष्ट हुन्छ र विश्वासमा अविश्वास, अविश्वासमा विश्वास यस्तै हो नेपाली लोकतन्त्र । इमानदारिता, निष्ठा, नैतिकताको पाठ पढाउने नेपाली धर्मलाई त सबैले पहिले नै बिर्सेका हुन् । अब त कहीँ कसैको दर्शन बा संस्कार देखिँदैन ।

‘नो नट् एगेन’ नारा लिएर धेरै लोकप्रिय भएका नयाँ पुस्ताले बाहरूको पछि लाग्नु गम्भीर भूल थियो, यसबाट ‘८४’ मा पनि अघि बढ्न मुस्किल हुन्छ र यो कुराको पुष्टि इलामको उपनिर्वाचनले पनि गराइसकेको थियो । पहिलो एक महिना र दोस्रो पल्ट चार महिना सिंहदरबारको झन्डा हल्लाउनु भनेको आगोको लप्कामा पौडी खेल्नु सरह थियो, त्यति बेलै भुतभुते खरानी त आफ्नै महामन्त्री भइसकेका थिए । अर्को अस्त्र विपक्षीहरूले निलम्बनकै माग गरेर अदालततिर छर्दै थिए । रवि भाइलाई बाहरूले सिध्याउने खेल याद भएन । ‘नो नट् एगेन’कै अडानमा बसेको भए ८४ मा उनले बालुवाटार बसेर बाहरूलाई घरैमा गएर वृद्ध भत्ता बाँड्न सक्ने हुन्थे । 

एक बालाई ललिता निवास र भुटानी शरणार्थी अर्का बालाई गिरिबन्धुदेखि अन्य बाहरूलाई क्यान्टनमेण्टसम्म सबैतिर लोकतन्त्र छर्दै हिँड्नु पर्ने कुरो रविले बुझ्न सकेनन् र उनलाई सहकारीहरू थोपरिँदै आए । परीक्षामा ३५ नम्बर पास मार्क हुँदा पनि ३२ नम्बर आउँदा सफलताको घोषणा गर्ने ओली बा, देउवा नै हुन् । दक्षिणतिर ३२ सिट नपुग्दा ढाडस दिन जाँदा पनि अहिले उताबाट चासो नदिएको भान हुन्छ र उता काले पनि यताको बाँडचूँडको इतिहास सम्झेको महसुस हुन्छ । पालैपालो सिट बाँडफाँट यहाँको लोकतन्त्रको सभ्यता नै हो । पछिल्लो पाँच वर्ष पनि तीन बाहरूको आडमै लोकतन्त्र रहने हो र एक बाको समय सकियो अब दुई बाहरूले लोकतन्त्रको रसास्वादन गर्नेछन्, बाँकी सन्तान बेवारिसे नै हुन्, यो सबै पूर्व नियोजित हो र अहिले नाटकको नयाँ दृश्यले जनता अलमलिएका मात्रै हुन् । 

नानीका बालाई चितवनबाट गोर्खा गलहत्याउने नयाँ सन्ततिले २८ गते ३२ को पास मार्कलाई ६३ मत देखाउन सहयोग गर्नुले लोकतन्त्र पुरानो र नयाँ पुस्तामा भिन्न छैन भन्ने पुष्टि गरेकै छ । बाहरू बालेनसँग सिँगौरी खेल्छन्, नेपालीहरू गरिबी र भोकमरीसँग, अनि बाढी र पहिरोसँग, आगलागी र चट्याङ्गसँग बा कोरोना, डिँगो, भूकम्पसँग अथवा विदेशीको यातनासँग, विदेशमै भनौँ विप्रेषणसँग । असारको मध्य मनसुन ३९ प्रतिशत रोपाइँ हुने देशमा लोकतन्त्रले विकास खर्च भनौँ पुँजीगत आधा गर्न सकेन । सबैतिर उधारो छ भुक्तानी हुन र बेरुजु सबैभन्दा धेरै छ, केन्द्रको निजामती नेतृत्व मात्रै होइन पालिकाहरूका मेयर उपमेयरको ताँती नै लागेको छ भ्रष्टाचारको मुद्दामा । पछिल्लोपल्ट त बेचनले बेचैन गराए लोकतन्त्रलाई । अरू सम्भावित केसले पनि भोलि साना सन्तानहरूलाई फेरि उठ्ने वातावरण त तय गरिहाल्छ, कारण मसानमै मुर्दा पर्ने हो, मसान बाहिर बसेका र लोकतन्त्रको चास्नी नपाएको समूह भनेको निरीह नागरिक मात्रै हो र देशमा नागरिकभन्दा नेता र कार्यकर्ता धेरै छन्, लोकतन्त्रको रसास्वादन कसले कसरी लिइरहेको छ भन्ने सबैलाई थाहा छ नै ।

अदालतले ओली बालाई पदमुक्त गरायो, देउवालाई दिलायो पहिले, देउवाले त्यसको ऋण तिरेका छन् ओली बालाई अहिले, पास मार्क पनि नल्याएर पहिलो पौने दुई वर्ष रस चाख्ने नानीका बासँग बाँकी २ बाहरूको मिलीभगत छैन भन्ने कुरामा असहमत हुने ठाउँ छैन र आउने ८४मा पनि लोकतन्त्रले ७९को झैँ रिहर्सल नगर्ला भन्न पनि सकिन्न । 

सुडान, सोमालियाहरूको पनि पीडा उस्तै होला तर, हाम्रा बाहरूले देशलाई सिँगापुर, स्विडेन, स्वीट्जरलैण्ड बनाउँछु भने तर नेपाल बनाउँछु भनेनन् र सुशासनको एक नम्बर आउने देश डेनमार्ककी प्रधानमन्त्री साइकलमा कार्यालय जाऊ आऊ गर्छिन् भन्ने याद पाएन । यहाँ बाहरूको सुरक्षाको ताँती कत्रो छ, बा नानीका बालाई पहिले जस्तै सुरक्षाको थुप्रो लगाइरहने कि घटाउने अहिले नै भन्न अप्ठेरो छ । हुन त देशको लोकतन्त्रको परिचय नै नेताको सुरक्षा र सुविधा हो, अन्यत्र सुरक्षा आवश्यक छैन, यहाँ चुच्चे नक्सा देखिन्छ, त्यही नक्सा विदेशतिर खोज्दा बुच्चे भेटिन्छ, नागरिक सुरक्षा नचाहिने लोकतन्त्रको २८ गतेको नयाँ परिभाषा गर्दा सयौँ मान्छेको एक चिहान भइरहेको देखिन्थ्यो । एक बाका पुर्खाले बालुवाटार प्रवेश गर्नासाथ भट्टे डाँडाको थाई एयर सती जाँदै गरेको अनि बाहरूकै पुर्खाले सिंहदरबार बालुवाटार गर्दै रहँदा गोसाइँकुण्डको घोप्टे भीरमा अर्को एयर सती जाँदै गरेका थिए । मार्ग फरक हो हवाई र स्थल मार्ग, मुग्लिङ मार्ग आजको मात्रै समस्या होइन लोकतन्त्रले बुझ्नै चाहेन ड्राई सिजन भनौँ जेठमा त्यताको यात्रा गर्दा त्यही ठाउँमा ढुँगा खसेर डोजरलाई अचार बनाइदिएको प्रत्यक्ष दृश्य त पङ्क्तिकारले आम मिडियाबाट सर्वत्र प्रस्तुत गरेकै थियो । हाम्रो पूर्वाधार कस्तो छ भन्ने कुरो त बन्द मेलम्ची र बुटवल नारायण घाटको सडक अवस्थाले पनि पुष्टि गर्छ नै ।

ADVADV

सम्बन्धित खबर

Advertise