२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

रेलले जोडिए जनकपुर-अयोध्या, बालेन-मोदीले गरे उद्घाटन 

Nada
२०८३ मंसिर ७ गते १३:५७
Shares
रेलले जोडिए जनकपुर-अयोध्या, बालेन-मोदीले गरे उद्घाटन 

नयाँ दिल्ली : नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सुरु भएको छ । दुई देशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उद्देश्यसहित सोमबारदेखि जनकपुरधाम–अयोध्या विशेष रेल सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरे । उद्घाटनसँगै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ । अयोध्या स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेल अधिकारीहरूले रेललाई बिदाइ गर्ने कार्यक्रम छ ।

करिब ६०४ किलोमिटर लामो यो रेलमार्गले नेपाल र भारतका दुई प्रमुख धार्मिक सहरलाई प्रत्यक्ष सम्पर्कमा जोडेको छ । भारतीय रेल मन्त्रालयका अनुसार नयाँ सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ ।

रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आइपुग्नेछ ।

यस रुटमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।

नेपाली भूमिमा भारतीय रेल सञ्चालनको सुरक्षा व्यवस्थापनबारे दुई देशबीच लामो समय छलफल भएको थियो । नेपालले आफ्नो भूमिमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने अडान राखेको थियो भने भारतले रेलको सुरक्षामा आफ्नै सुरक्षाकर्मी रहने प्रस्ताव गरेको थियो ।

रामायण सर्किट पर्यटनलाई टेवा

जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्नुको प्रमुख उद्देश्य धार्मिक पर्यटन प्रवद्र्धन गर्नु हो । हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमि हो । राम र सीताको विवाहसँग जोडिएका यी दुई सहरबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध शताब्दीयौँ पुरानो मानिन्छ ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डप तथा अयोध्याको राम मन्दिर दुवै देशको साझा धार्मिक आस्थाका केन्द्र हुन् । विशेषगरी विवाहपञ्चमीका अवसरमा अयोध्याबाट जनकपुरधाम जन्ती आउने र जनकपुरबाट भारसहितको टोली अयोध्या जाने परम्पराले यी दुई सहरको सम्बन्धलाई जीवन्त राखेको छ । हरेक वर्ष विवाहपञ्चमीमा अयोध्याबाट साधुसन्त र श्रद्धालुहरू जनकपुरधाम आउने गर्छन् ।

नयाँ रेल सेवाले धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै रामायण सर्किटअन्तर्गतका गन्तव्यबीच सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ ।

जनकपुरधाम आएका पर्यटकलाई नेपालका अन्य पर्यटकीय गन्तव्यसम्म पु¥याउने योजना पनि अघि सारिएको छ । यसका लागि जनकपुरबाट पोखरासम्म हवाई सेवा सञ्चालन गर्ने नेपालको योजना छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । नयाँ सेवाले यस क्षेत्रको रेल सम्पर्कलाई अन्तरदेशीय विस्तार गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर