२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

१२ बुँदे माग राख्दै नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग

Nada
२०८३ मंसिर ११ गते १४:११
Shares
१२ बुँदे माग राख्दै नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री पुनको राजीनामा माग

काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै उनीहरूले शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था परिवर्तन गर्दा सरोकारवालासँग परामर्श नगरिएको र उनीहरूका सुझावसमेत बेवास्ता गरिएको कर्मचारीहरूको आरोप छ ।

वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलका अनुसार आन्दोलित कर्मचारीले अध्यादेश र नियमावली तत्काल खारेज गर्न तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सुधारका नाममा विद्यमान संस्थागत संरचना कमजोर बनाउने र दक्ष जनशक्तिको पलायन निम्त्याउने कदम स्वीकार्य नहुने पौडेलको भनाइ छ । मुलुकको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्यलाई दिशानिर्देश गर्ने गरी विज्ञान नीति तर्जुमा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कर्मचारीहरूले सार्वजनिक गरेको १२ बुँदे मागपत्रमा प्रतिष्ठानको स्वायत्तता, कर्मचारीको सेवा सुरक्षा, नेतृत्व चयन प्रक्रिया, अनुसन्धानको वातावरण, प्रयोगशाला सुदृढीकरण तथा अनुसन्धान बजेट वृद्धिलगायत विषय समेटिएका छन् ।

यस्ता छन् नास्टका कर्मचारीका १२ बुँदे माग :
१. नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली तत्काल खारेज गर्नुपर्ने ।

२. अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने कार्य बन्द गर्नुपर्ने

३. प्रतिष्ठानमाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप अन्त्य गर्नुपर्ने ।

४. सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्नुपर्ने ।

५. खुला विज्ञापन तथा प्रतिस्पर्धाबाट संस्थाको सक्षम नेतृत्व चयन गर्नुपर्ने ।

६. साबिकको ऐनअन्तर्गत नियुक्त सम्पूर्ण कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने ।

७. कर्मचारीलाई धम्क्याउने, थर्काउने र मनोबल गिराउने कार्य बन्द गरी विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने ।

८. दक्ष जनशक्तिलाई विदेशिन बाध्य पार्नुको सट्टा स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने ।

९. विद्यमान संस्थागत संरचना ध्वस्त पार्नुको सट्टा त्यसलाई सुदृढ बनाउनुपर्ने ।

१०. नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका सबै प्रयोगशालालाई सबल बनाउँदै अनुसन्धान बजेट बढाउनुपर्ने ।

११. प्रतिष्ठानको स्वायत्तता सुनिश्चित गरी वैज्ञानिकहरूले दबाबबिना अनुसन्धान गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने ।

१२. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने ।

‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर