
नेपालगन्ज : नेपालगन्ज कनक्लेभको पहिलो सत्र ‘खेल, पर्यटन र युवा : सम्भावनाको नयाँ ढोका’ शीर्षकमा सम्पन्न भएको छ । सत्रमा खेल, पर्यटन र युवा उद्यमशीलताका सम्भावना तथा चुनौतीबारे छलफल गरिएको थियो ।
विशाल रानामगरले सहजीकरण गरेको उक्त सत्रमा एभरेष्ट म्याराथनका सिइओ शिखर पाण्डे, नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल दिपमाला ढकाल सहभागी थिए ।
छलफलका क्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रका अनुभव सुनाउँदै नेपालमै बसेर सपना पूरा गर्न सकिने सम्भावना, खेल क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र त्यसका लागि आवश्यक नीतिगत व्यवस्थाबारे धारणा राखे ।
नेपाली युवाहरू सपना पूरा गर्न विदेश गइरहेका बेला हङकङमा जन्मिएकी मिस नेपाल दिपमाला ढकाल भने आफ्नो सपना पूरा गर्न नेपाल आएको बताइन् । उनले विदेश गएर मात्र सपना पूरा हुन्छ भन्ने सोच त्याग्दै आफ्नै देशमा बसेर पनि लक्ष्य हासिल गर्न सकिने धारणा राखिन् । सपना पूरा गर्न निरन्तर मेहनत आवश्यक पर्ने उल्लेख गर्दै उनले दैनिक गतिविधि र प्रयासले नै भविष्य निर्धारण गर्ने बताइन् । मिस नेपाल केवल बाहिरी सुन्दरताको उपाधि नभई जिम्मेवारी र आत्मविश्वाससँग जोडिएको पदवी भएको उनको भनाइ थियो ।
नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापामगरले प्रतियोगिताको अभावमा खेलाडी उत्पादन हुन नसकेको बताइन् । क्रिकेटमा १७ वर्ष बिताएकी नेरीले खेल क्षेत्रमा लाग्न आफूलाई घरपरिवारको साथ र सहज वातावरणले सहयोग गरेको अनुभव सुनाइन् । परिवारका सदस्यहरू नै खेल क्षेत्रमा आबद्ध भएकाले क्रिकेटमा आउन सहज भएको उनको भनाइ थियो ।
नेपाली महिला क्रिकेट टोली गठन हुँदा आफूसहित सात जना बाँकेका खेलाडी रहेको स्मरण गर्दै उनले अहिले राष्ट्रिय टोलीमा बाँकेबाट एक जना पनि खेलाडी नपर्दा दुःख लागेको बताइन् । यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान नहुनु पनि खेल र खेलाडीको विकास पछाडि पर्नुको एउटा कारण भएको उनको भनाइ थियो ।
पर्यटन व्यवसायी केशव न्यौपानेले पर्यटन व्यवसायको विकासका लागि स्थायी सरकार र प्रभावकारी नीति आवश्यक रहेको बताए । सरकारी नीतिले पर्यटन व्यवसायमा ठूलो प्रभाव पार्ने उल्लेख गर्दै उनले संघर्षबिना सफलता प्राप्त गर्न नसकिने धारणा राखे । कठिन परिस्थितिमा बलियो जग निर्माण गर्न सके सफलता हासिल गर्न सकिने उदाहरण दिँदै उनले सिद्धार्थ हस्पिटालिटी नेपालकै अग्रणी बन्दै गएको बताए ।
त्यसैगरी, एभरेष्ट म्याराथनका सिइओ शिखर पाण्डेले हिमाली क्षेत्रमा सञ्चार सुविधाको विस्तारले प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । प्रतियोगिताका क्रममा सुरक्षालाई विशेष प्राथमिकता दिँदै हेलिकोप्टर टोलीसमेत तयारी अवस्थामा राख्ने गरिएको उनले जानकारी दिए । एभरेष्ट म्याराथनले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै अन्तर्राष्ट्रियस्तरको पहिचान बनाउँदै गएको उनको भनाइ थियो ।
सत्रअघि कार्यक्रमबारे जानकारी दिँदै नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले नेपालगन्जलाई विचार, विमर्श र अन्तरक्रियाको केन्द्र बनाउने उद्देश्यले कनक्लेभ सुरु गरिएको बताए । पुरानो सहरका रूपमा रहेको नेपालगन्जको धार्मिक तथा भाषिक विविधतालाई साहित्य, खेलकुद र विचार विमर्शसँग जोड्ने प्रयासस्वरूप नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको उनले बताए ।
नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन यहाँका सबैको साझा कार्यक्रम भएको उल्लेख गर्दै नेपालले यसको निरन्तरता र अपनत्वमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताए ।