२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

गाउँमा बँदेल र बाँदर, बजारमा कुकुर आतंक

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ५ गते २१:२९
गाउँमा बँदेल र बाँदर, बजारमा कुकुर आतंक

अर्घाखाँची : सन्धिखर्कका राम प्रसाद घिमिरे बच्चालाई स्कुल पुर्‍याएर घर फर्किंदै थिए । सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल बढिसकेको थियो । आफ्नै सुरमा हिँडिरहेका घिमिरेलाई खुट्टामा केहीले काटेझैँ चसक्क गर्‍यो । फर्केर हेर्दा आफ्नै टोलमा घर अगाडि  पालेको कुकुर देखे तर, कुकुरले उनलाई टोकिसकेछ । 

‘चोकमा सधैँ कुकुर बसिरहेका हुन्छन्,’ कुकुरले टोकेपछि एन्टिरेबिज खोप लगाउन अर्घाखाँची अस्पताल पुगेका घिमिरेले भने, ‘मैले सधैँ यसै कुकुरलाई खान खान दिने गर्थे, तर आज कताबाट कुकुर रिसायो मैले पत्तो पाउन सकिन ।’

बुधाबार दिउँसो भूमिकास्थानकी कल्पना श्रेष्ठलाई पनि सडकमा हिँडिरहेका बेला अचानक कुकुरले टोक्यो । ‘बाटोमा हिँड्दै थिए, कताबाट आयो कताबाट, टोकेपछि मात्र थाहा पाए,’ श्रेष्ठले भनिन्, ‘टोकेपछि रेबिजको सुइ लगाउन अस्पतालसम्म आइपुग्नुपर्‍यो ।’

सन्धिखर्क नगरपालिकाको सन्धिखर्क चुत्राबेसी बजार स्यालेबजार हल लाइन बिहार फुदबाङ लगायतका ठाउँहरुमा छाडा कुकुरहरुले आतंक नै मच्चाउन थालेका छन् । सन्धिखर्क नगरपालिका जिल्ला प्रहरी कार्यालय टुँडिखेल जिल्ला अस्पतालको गेटतर्फ आसपासमा छाडा कुकुरका कारण बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा आवत–जावत गर्ने बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मी त्रसित बनेको स्थानीयबासीहरु बताउँछन् ।

यी ठाउँहरुमा बिहान बिहानी वाक गर्ने कलेज विद्यालय जाने तथा जिल्ला अस्पताल  आसपासमा कुकुरको आक्रमणका कारण कतिपय स्थानीय घाइते बनेको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का अध्यक्ष नारायण खड्काले बताए ।

रातका समयमा बजार क्षेत्रमा भेला भएका कुकुरले झम्टिने गरेको छ । जथाभावी छाडिएका कुकुरका कारण बजार तथा अस्पताल आँखा अस्पताल टुँडिखेल लगायतका क्षेत्रमा बिहान बेलुका हिँड्डुल गर्न कठिन हुने गरेको सन्धिखर्क निवासी मोहनसिंह ठकुरीले बताए । कुकुर आतङ्क नियन्त्रण होस् भन्ने उद्देश्यले सन्धिखर्क नगरपालिका अर्घाखाँचीले केही महिना पहिला कुकुरहरुको भ्यासेक्टोमी क्याम्प सञ्चालन गरेका र अब पनि यस विषयमा आफुहरुको ध्यानाकर्षण भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले बताए ।   

उनले भने, ‘हामिले कुकुर पालन गरिरहेका घरधनीलाई आ–आफ्नो कुकुर नियन्त्रणमा लिएर बाँधेर घरमा राख्न अनुरोध गरेका छौं ।’

बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई आवत–जावत तथा हिँड्डुल गर्न समस्या सिर्जना हुनुका साथै केही मानिसलाई घाइते समेत बनाएको र भविष्यमा समेत त्यस्ता कुकुरले समस्या सिर्जना गर्न सक्ने हुँदा आ–आफ्नो कुकुरलाई बाँधेर राख्न नगरपालिकाले अनुरोध गरेको छ ।

यस्तै, सन्धिखर्क नगरपालिकाको चुत्राबेसी बजारमा समेत छाडा कुकुरको बिगबिगी छ । रातका समयमा चुत्राबेसी हुल बनेको कुकुरले आक्रमण गर्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको चुत्राबेसीका स्थानीय व्यापारी असोक पौडेलले गुनासो गरे ।

गाउँमा बाँदर र बदेलको आतंक छ बजारमा कुकुरको आतङ्क छ । यसलाई नियन्त्रण गर्ने विषयमा अहिले छलफल चलिरहेकोले यसको नियन्त्रण कसरी गर्ने भन्नेकुरा भेटेनरी अस्पतालका डाक्टरहरुसँग परामर्श गरेर अगाडि बढ्ने तयारी भएको निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले बताए । कुकुरले मानिसलाई टोक्ने मात्रै होइन कुकुरले खोरमा पालेका कुखुर बाख्रालाई समेत आक्रमण गरी क्षति पुर्‍याउन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise