काठमाडौं : पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणको दोस्रो चरणमा २० खेलाडीलाई राखेको छ । क्यानले बिहीबार सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिएका २० खेलाडीको नाम सार्वजनिक गरेको हो ।
बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो । यसअघि क्यानले बन्द प्रशिक्षणको पहिलो चरणमा २८ खेलाडीलाई बोलाएको थियो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो ।
राष्ट्रिय क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्री चौधरीले सन्दीपलाई बिहीबारदेखि होटलमा राखिएको बताउँदै शुक्रबार फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हर्ने बताए । सन्दीप खेल्नयोग्य भए खेलाउने उनको भनाइ थियो ।
सूर्य तामाङ र मौसम ढकालले दोस्रो चरणको टिममा पनि स्थान बनाएका छन् । विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनास बोहरा, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी र शरद भेषवाकर भने बाहिरिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा शुरू भएर फागुन ९ मा सकिनेछ । लिग–२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो । यस्तै नेपालले लिग–२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो ।
यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ । दुवै सिरिजको मिति पक्का भइसकेको छैन ।
९ सिरिजमा ४–४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ । लिग–२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ । शीर्ष तीन भित्र परे एकदिवसीय विश्वकप छनोटमा पुगिनेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ ।
लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ । आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।
सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ । अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ ।
नेपालको दोस्रो चरणको टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies