लक्ष्मण यादव/मध्यान्ह
सर्लाही, १९ माघ । सर्लाहीको बलरा नगरपालिका–४ बलरास्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको नाममा निर्मित भवनमा विगत ४ वर्षदेखि अस्पताल र विद्युत कार्यालय सञ्चालनमा रहेको पाइएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको विद्यालयमा २०७४ सालको स्थानीय निर्वाचन पश्चात् बलरा नगरपालिकाको कार्यालय करिब एक वर्ष सञ्चालन भएको थियो । त्यसपछी २०७५ सालदेखि धुलिखेल नामक अस्पताल र विद्युत् कार्यालय संचालनमा रहेको छ । साथै विद्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी आवास पनि रहेको छ । भारत सरकारको ४ करोड ४५ लाख रुपैयाँको लागतमा बनेको भवन निर्माणको काम २०७४ सालमा सम्पन्न भएको थियो ।
बिहीबार भारतीय महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत नितेश कुमारले एक कार्यक्रमकाबीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाले उक्त भवन विद्यालयको नाममा भएपनि स्थानीयले जबर्जस्ती यस भवनमा अस्पताल र विद्युत् कार्यालय स्थापना गरेकोले विद्यार्थीहरुलाई विद्यालयको पुरानै भवनमा राखेर पढाउन बाध्य भएको बताए । अब भारतीय महावाणिज्यदूतले औपचारिक रुपमा यस विद्यालयलाई भवन हस्तान्तर गरेकाले यस भवनबाट अस्पताल र विद्युत् कार्यालय हटाएर पठनपाठन संचालन गराउन सहयोग गर्न स्थानीय, जिल्ला समन्वय समिति सर्लाही र प्रशासनसँग उनले अनुरोध गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत नितेश कुमार, विशिस्ट अतिथि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदी र बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुश्वाहा थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies