काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर संघका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो ।
इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोधन गर्न माग गरेको छ । संघले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।
साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए ।
देशको अर्थतन्त्र मजबुत बनाउन राज्य र निजी क्षेत्रको बीचमा सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्दै ‘मिडिया प्रतिपक्षीमात्र होइन उत्प्रेरक पनि हो’ भन्ने मान्यता लिएर सो संघ स्थापना भएको हो । संघले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies