रेशम अधिकारी/मध्यान्ह
रुपन्देहीः माघ २६ देखि फाल्गुन १० गतेसम्म सञ्चालन हुने सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा स्थानीय कृषि प्रदर्शनीलाई निः शुल्क स्टल उपलब्ध हुने भएको छ ।
स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्नु महोत्सवको मूख्य उदेश्य भएकोले स्थानीय कृषि प्रदर्शनीलाई निः शुल्क स्टल उपलब्ध गराइन लागिएको स्टल दर्ता उपसमिति संयोजक अमृतबहादुर फुल्लेलले बताए । उनका अनुसार महोत्सवमा १५० स्टल रहनेछ भने हालसम्म ८० प्रतिशत स्टल बुक भैसकेको छ ।
दुई हप्तासम्म सञ्चालन हुने देवदह महोत्सवमा लुम्बिनी प्रदेश सरकारले समेत विशेष चासो देखाएको छ । बिहीबार मात्रै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले मेला सचिवालयमै पुगेर तयारीबारे चासो राखेका थिए । देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतले समेत मेलालाई भव्य र व्यवस्थित बनाउन सुझाव सल्लाह दिंदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराईले बताए ।
महोत्सवमा सांस्कृतिक र्याली, विज्ञान प्रदर्शनी, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, सवल अर्थतन्त्रको आधार – स्वदेशी लगानी तथा युवा रोजगार विषयमा वक्तृत्वकला कार्यक्रम, सिङ्गिङ्ग र डान्सिङ आइडल, छात्रा भलिवल प्रतियोगिता तथा दैनिक रुपमा गोष्ठी–सेमिनारसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक तथा सांगीतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
महोत्सवको आयोजना उद्योग व्यापार संघ रुपन्देहीले गर्दै आएको छ ।
महोत्सव अवलोकनमा सबै वर्ग, क्षेत्र र समुदायको पहुँचको लागि यसपटक विशेष टिकट व्यवस्था गरिएको मेला मूल आयोजक समिति संयोजक मेघराज ढकालले बताए । उनका अनुसार महोत्सवको सामान्य टिकटको मूल्य ७० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थी सहुलियत टिकट रु. ५० तोकिएको छ । जसमा विद्यालयको अनुमतिमा समूहगत रुपमा मेला अवलोकन गर्न आउने विद्यार्थी र संस्थागत रुपमा मेला अवलोकन गर्न आउने आमा÷महिला समूहलाई प्रतिव्यक्ति ३० रुपैयाँमा समूहगत टिकटको व्यवस्था गरिने संयोजक ढकालले बताए ।
त्यसैगरि जेष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएका व्यक्तिलाई भने निशुल्क प्रवेशको व्यवस्था मिलाइने मेलास्थल देवदह मण्डपमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महोत्सव सचिवालय संयोजक थानेश्वर लम्सालले बताए । सामाजिक दायित्वलाई मनन गर्दै महोत्सवलाई व्यापारमैत्री नभएर दर्शकमैत्री बनाइने उनले जानकारी गराए ।
२०६८ सालमा बुटवल र भैरहवा बाहिर रुपन्देही जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको देवदह व्यापार मेलाको यो सातौं संस्करण हो । मेलाका सहआयोजक देवदह नगरपालिका, उद्योग व्यापार संघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग व्यापार महासंघ रहेका छन् । सहयोगी संथाको रूपमा देवदह व्यापार संघ देवदह र उद्योग वाणिज्य संघ देवदह रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies