२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दश वटै स्थानीय तहको समीक्षा : जिम्मेवार पहिचान गरेर सहकार्य गर्न सुझाव

ADV
सपना बोहरा
२०८१ भदौ ६ गते २१:२५
दश वटै स्थानीय तहको समीक्षा : जिम्मेवार पहिचान गरेर सहकार्य गर्न सुझाव

दाङ : दाङका दश वटै स्थानीय तहले समीक्षा गरेका छन् । राजपुर गाउँपालिका, बबई गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गरेका हुन् ।

समीक्षा गोष्ठीमा सहभागी जनप्रतिनिधिहरुले समन्वयको अभाव भएको बताएका थिए । प्रत्येक कार्यालयहरु एक अर्काबीच समन्वय नभएको र प्रदेश तथा संघबीच पनि समन्वय हुन नसकेको समीक्षा गरिएको छ । 

दश वटै स्थानीय तह, अन्य सरकारी तथा गैर सरकारी कार्यालयका दुईदिनसम्म चल्ने समीक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतीथि लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयको अभाव देखिएको बताए । 

देश संघीयतामा गइ सकेपनि विभिन्न नीति नियमहरु संविधानले प्रदान गरेपनि त्यो अनुसारका काम हुन नसकको उनको भनाइ छ । अस्थिर राजनीति र सरकारका तीन वटा अंग स्थानीय, प्रदेश र संघमा समन्वयको अभाव हँुदा विकास निर्माणका कामहरुले तीव्र गति लिन नसकेको बताए । 

‘एक कार्यालय र अर्को कार्यालयबीच समन्वय नभएको यी कारणहरुले देखाउँछ’ प्रमुख अतिथि न्यौपानेले भने, ‘यो विषयमा गम्भीर समीक्षा गर्नुपर्ने छ ।’ सबै तहको समन्वय भएमा परिणाममुखी काम हुन सक्ने उनले बताए । 

‘समृद्ध दाङ बनाउने विषयमा होस् वा नागरिकको काम गर्ने विषय होस्’ उनले भने ‘सबैले अनुभूती गर्ने खालको हुनुपर्छ ।’

मन्त्री न्यौपानेले जनप्रतिनिधिहरुले इमानदारीपूर्वक जिम्मेवार सम्हालेमा जनताले स्थानीय सरकारको प्रत्याभूति हुने बताए । धेरैजसो अधिकार स्थानीय तहमा हुने हुँदा आफ्नो जिम्मेवार पहिचान गरेर काम गर्न उनले सुझाव दिए । ‘धेरै अधिकार स्थानीय तहमा नै छ’ उनले भने,‘आफ्नो जिम्मेवार पहिचान हुन नसकेको पो हो कि ?’

गोष्ठीमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलेले स्थानीय, प्रदेश र संघसँग समन्वय नभएको बताए । ‘हामी स्थानीय सरकारमा छौं, हाम्रो भूमिका स्थानीय स्तरको हुन्छ’ कार्यक्रममा उनले भने, ‘यहाँ समन्वय नहुँदा जनताको काम गर्न समस्या परिरहेको हुन्छ ।’ 

समन्वय र सहकार्य कसले गर्ने भन्ने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको उनले बताए । सडक निर्माण गर्दा एउटा विद्युतको पोल सार्न वर्ष दिन लाग्छ, ‘गोष्ठीमा उनले भने ‘यस्तो तरिकाले देशको विकास कसरी हुन्छ ।’ समन्वयको अभाव हुँदा दुबै पक्षलाई काम गर्न समस्या हुने उनले बताए । 

गोष्ठीमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादवले सिमित श्रोत र साधनमा रहेर स्थानीय तह चल्नुपर्ने र प्रदेश तथा संघसँग पनि समन्वय गरेर काम गर्नुपर्ने बताइन् । ‘हामीसँग सिमित श्रोत छ, जनताको अपेक्षा धेरै छन्,’उनले भनिन्, ‘ती अपेक्षा पुरा गर्नको लागि संघ, प्रदेशसँग समन्वय गर्नुपर्छ ।’ अझै पनि आफ्नो गाउँपालिकामा फोन र सडकको सुविधा नभएको उनले बताइन् । जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माको अध्यक्षता सम्पन्न भएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise