२०८१ असोज २५ गते शुक्रवार / Oct 11 , 2024 , Friday
२०८१ असोज २५ गते शुक्रवार

अटुट र अविरल माया तिमीलाई !

ADV
२०८१ भदौ ८ गते ०६:३०
अटुट र अविरल माया तिमीलाई !

–बिदुर दाहाल

मायामा कुनै बार बन्देज हुँदैन । मायामा कुनै घृणा र बदला हुँदैन । पवित्र मायाले जात, धर्म, धनी–गरिब वा यस्तै खाले अरू अवरोधहरूलाई नाग्छन् । छिचोल्छन् । त्यसैले भनिन्छ, युद्ध र प्रेममा कुनै नियमहरूले काम गर्दैनन् । सबै फिक्का हुन्छन् । 

जीवन सँगै जिउने र सँगै मर्ने कसम थियो । आधा दशक समय रमाउँदै र ठुस्स पर्दै बिते । रिसाउँदा पनि माया मिसिएको हुन्थ्यो । खुसाउँदाको त कुरै भएन । आकाशको तारा झाथ्र्याैं दुवैले । मिठा–मिठा कल्पनामा दिन बित्थे । घण्टौँको समय मिनेट झैँ लाग्थ्यो । 

रिसाउने कारण पनि अचम्मका हुन्थे । कहिले काहीँ त हप्ता दिनसम्म नबोल्ने । कसले पहिला बोलाउने र कसले पहिला फोन गरेर फकाउनेमा प्रतिस्पर्धा हुन्थ्यो । कहिले उनले माफी माग्थिन् । कहिले म । दुवै जना सम्झौता गर्थौं । अब कहिल्यै यसो नगर्ने भनेर । तर, त्यो सम्झौता केही दिनमा भत्किन्थ्यो । रिसाउने कारण सम्झँदा अनौठो लाग्छ अहिले । किन फोन नगरेको ? किन धेरै पिरो खाएको ? यस्तै यस्तै....।

समयले नेटो काटेको पत्तो भएन । क्याम्पस पढ्ने बेलासम्म घरले पैसा पठायो । जीवन अरूको भरमा चल्यो । बिस्तारै भविष्यले पोल्न थाल्यो । आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने लाग्यो । देशमै गरिखान सक्ने ठानिन मैले । लोकसेवा पढ्ने आँट आएन । दुवै जनाले कोरिया जाने भाषा परीक्षा दियौँ । दुवैको नाम निस्केन । असफल भयौँ । नरमाइलो लाग्यो । दुवै जना खुब रोयौं । आगोले पोलेको घाउलाई आगोले नै सेकाउनु पर्छ भन्ने लाग्यो । विद्यार्थी भिसामा उनलाई छोडेर कोरिया गए । कलेज पढ्दै रेस्टुरेन्टमा काम गर्न थालेँ म । 

उनीसँग मिठा–मिठा कुरा हुन्थे अनलाइनमा । उनी पनि सानोतिनो प्राइभेट कम्पनीमा काम गर्थिन् काठमाडौंमा । केही खर्च कोरियाबाट पठाउँथे म । उनलाई भर थेग हुन्थ्यो । पैसा कमाएर कोरियाबाट छिटै फर्केर घरजम गर्ने बाचा थियो हाम्रो । 

एक दिन अकस्मात् एक जना युवती रेस्टुरेन्टमा आइन र रक्सी मागिन् । कोरियाको सामान्य नियम थाहा थियो तर, रक्सी सम्बन्धी नियम थाहा थिएन मलाई । उमेर सोध्ने याद पनि आएन । रक्सी दिए मैले । कोरियाको कानुनअनुसार केटाकेटीलाई रक्सी दिएको अभियोगमा पुलिसले पक्रियो मलाई । नेपालमा जस्तो सामान्य कानुन रहेनछ कोरियामा । जेल परे म । अदालतले दोषी ठहर गर्‍यो मलाई । 

पक्रन साथ मेरो मोबाइल खोसियो । सम्पर्क विहीन भए म सबैसँग । कति तड्पिन होला मेरी उनी । कल्पना गरेर जेलमा बसेँ । कुनै उपाय भएन मसँग । घर परिवार, साथी सङ्गति सबैसँग सम्पर्क टुट्यो । सोचे, मेरो जीवन अब नरक हुने भो !

५ वर्षपछि जेलबाट छुटेँ म । कोरियाको कानुन देखेर अचम्म लाग्यो । अनि नेपालको कानुन र त्यसको कार्यान्वयन सम्झिए । मानिसलाई मारेर, भ्रष्टाचार गरेर, बेइमानी गरेर शिर ठाडो बनाई हिँडेकाहरूलाई झलझली सम्झेँ । के गर्ने ? कसो गर्ने ? कुनै योजना थिएन । पैसा विहीन थिए म । अरूलाई सम्पर्क गर्ने नामो निशाना थिएन मसँग । जेल पर्नु अगावै पुलिसले पक्रँदा सबै कुरा खोसेका थिए । पछि पनि दिएनन् । 

जेलबाट छुटेपछि कोरियाको सरकारले दुई वर्ष काम गर्न अनुमति दियो । राहत महसुस गरेँ । दुई वर्ष काम गरेँ । केही पैसा कमाए । सात वर्षपछि नेपाल फर्किएँ । खबर गर्ने माध्यम थिएन । सिङ्गो ज्यान र केही पैसा मात्र थियो मसँग । पाँच वर्ष जेल बस्दा सबै नम्बरहरू बिर्सिएको थिएँ । लेख्ने कागजसम्म दिइएन मलाई । अरू त कुरै छोडौं । 

एयर पोर्टबाट सिधै मेरी मायाको कोठामा पुगेँ । पुग्दा उनी थिइनन् । वर्षाैं अगाडि कोठा सरेको र अरू थप थाहा नभएको बताइन् घर बेटी आमाले । सोही दिन म मेरो गाउँ गएँ । सबै जना रोए । आश्चर्य माने । माया मारेको मान्छे देखेर सबैले अँगालो हाले । कथा र बेथा सबै सुनाए । 

मन बेचैन थियो । मेरी उनी कहाँ छिन् होला ? कस्तो अवस्थामा होलिन् ? मनमा अनेकन कुरा खेले । मन मानेन । उनको पहाड घरको ठेगाना याद थियो मलाई । केही दिनको घर बसाई पछि उनको पहाड घरतिर लागेँ म । सोधिखोजी गर्दा घर पत्ता लाग्यो । म उनको घर पुगेँ । कोहो भनेर सोधे । मैले उनको पुरानो साथी भने । 

हे भगवान के अचम्म । उनलाई सेतो कपडामा निरस जीवन बाँचेको देखेँ । अरूले चिन्ने कुरा भएन । उनले चिनिन्, मैले उनलाई चिने । घरमा टिक्न नदिएर माइतीमै बसेकी रहिछन् । ‘छोरा टोकुवा’ भनेर घरबाट निकालेछन् । दुवै जना बेस्सरी रुयौं । केही घण्टा पछि फर्किए म । हातमा केही पैसा थमाई दिए । लिन मानिनन् । जबर्जस्ती दिएँ । माइतीले के भने होलान् ? बालै भएन मलाई । 

घरमा आएँ । एक्लै कोठामा बसेर रोएँ । अतीतलाई खेलाए । मनमा अनेक कुरा खेलेँ । अनेक प्रश्न आए । तर, उत्तर आएन । यता परिवारमा बिहेको कुरा धूमधामसँग चल्न लाग्यो । आमा र बुबाले आफ्नो प्राण हुँदै नाति–नातिना देखेर मर्ने धोको सुनाए । म अवाक् भए । परिवारसँग नाउत्तर भए । 

सीमाले के सोचिरहेकी होलिन् ? के होला उनको योजना ? यता मेरो घरमा पटक–पटक बिहेका कुरा चलेकै थिए । वर्षहरू यसैगरी बिते । सिमासँग फोन र अनलाइनमा कुरा हुन्थ्यो । मैले उनलाई पहिले जति माया गर्थी; अहिले पनि त्यति नै माया गर्छु भनेँ । तर उनी डराइन् । “तिमिलाई थाहा छ नि म एउटा बिधुवा हुँ’ भनिन् । विवाह लगत्तै श्रीमान् दुबई गएको र सडक दुर्घटनामा मारिएको कारुणिक बेथा सुनाइन् मलाई, “तिम्रो लागि म वर्षौँ कुरेँ तर परिवारले मलाई टिकी खान दिएन । म विवाह गर्न विवश भएँ । विवाह गरेँ । भगवानले त्यो पनि खोसे”, सुनाइन् उनले । धरधरी रोए म । 

पहिले जस्तै कुराकानी हुन थाल्यो सिमासँग । उनी एक बिधुवा, म एक अविवाहित केटा । समाजमा ठुलो ग्याप छ । कयौँ ठाउँबाट केटीका प्रस्ताव आए मलाई । मानिन मैले । परिवार आजित भयो । एक दिन बाले सोध्नु भयो । तेरो कुनै केटी छ ? मैले टाउको हल्लाए । बालाई फोटो देखाएँ । बाले तलाईं मन परे म राजी छु भन्नू भो । बालाई र परिवारलाई सीमाको विगत बताउने कुरै भएन । बताइन पनि । मेरो परिवारले उनीहरूको परिवार चिनेको पनि छैन । त्यसले मलाई राहत भयो । 

सबै कुरा सिमालाई बताएँ । सिमा अझै विश्वस्त हुन सकिनन् । मैले, “दोष तिम्रो होइन, दोष मेरो पनि होइन, दोष राज्यको हो, राज्यले नागरिकलाई देशमा टिकाएन, दोष परिस्थितिको हो” भनेर विश्वास दिलाएँ । विगतकै जस्तो निश्चल र अटुट माया दिने कुरा दोहोर्‍याएँ । फेरि पनि सिमाले आफू बिधुवा भएको र भविष्यमा कहीँ कतैबाट अरूले मेरो कुरा थाहा पाएँ र तिमिलाई पश्चात् भयो भने आत्मा हत्याभन्दा अरू उपाय नहुने बताइन् । अटुट र अविरल माया दिने कुरा दोहोर्‍याएँ । तेहेर्‍याएँ । 

एक्लै उनको परिवारमा गएर सिमाको हात र साथ मागे । उनीहरूले पनि सिमाको जस्तै कुरा दोहोर्‍याएँ । विवाह मैले गर्ने हो अरूले होइन; प्रस्ट कुरा राखेँ । विश्वास दिलाएँ । बरु विवाह हाम्रा दुई परिवारको उपस्थितिमा मात्र काठमाडौँको कुनै एक मन्दिरमा हुने प्रस्ताव गरेँ । दुवै परिवार सहमत भए । मेरो कहानी मेरो परिवारलाई र सिमालाई थाहा थियो । सिमाको कहानी मलाई र सिमाको परिवारलाई मात्र थाहा थियो । जीवनका अनेक मोडमध्ये एक मोड यसरी नै पार गर्दैछौं । न दोष सिमाको थियो; न दोष मेरो थियो । फगत दोष; परिस्थितिको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise