काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले तीन घण्टा बढी सोधपुछ गरेको छ । दिउँसो साढे चार बजेटबाट साँझ साढे आठ बजेसम्म सोधपुछ गरेको समितिले अर्को झण्डै दुई घण्टा लगाएर लामिछानेले दिएको बयान उतारेर हस्ताक्षर गराएको छ ।
सोधपुछका क्रममा सांसदहरुले गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहँदाको समयमा बिभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधेका थिए ।
जवाफमा लामिछानेले आफूले २५ प्रतिशत गुड विल सेयर पाएको उल्लेख गदै अन्य जिम्मेवारीमा आफू नरहेको बताए । गोरखा मिडिया नेटवर्क प्रालिमा भएको सकारात्मक र नकारात्मक दुवै कामको जिम्मा आफूले नलिने उनले सोधपुछका क्रममा बताएका छन् ।
समिति सदस्यहरुले अन्य सहकारीको रकम अपचलनको विषयमा समेत नाम मुछिएको भनेर सोधेका थिए । लामिछानेले इन्कारी बयान दिएका छन् । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर, कार्यक्रम निर्माण र प्रस्तोताको जिम्मेवारीमा थिए ।
लामिछानेलाई समितिले गोरखा मिडियामा रहँदाको भूमिका, अध्यक्ष जीबी राईसँगको सम्बन्ध लगायतका विषयमा प्रश्न सोधको थियो । समिति सभापति सूर्यबहादुर थापाका अनुसार लामिछानेलाई सोध्नका लागि करिब ५० वटा प्रश्न तयार गरिएका थिए ।
लामिछानेले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कसरी रकम आयो भन्नेबारे आफूलाई जानकारी नरहेको जवाफ दिएको सभापति थापाले जानकारी दिए । गोरखा मिडियाको आर्थिक व्यवस्थापनको पाटो आफूलाई जानकारी नरहेको लामिछानेले जवाफ दिएको थापाले जानकारी दिएका हुन् ।
सभापति थापाका अनुसार रवि लामिछानेले आफ्ना विषयहरू बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, प्रवाह गरिएको भनिएको रकम सम्बन्धमा आफ्नो हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरू समावेश नभएको बताएका छन् ।
सभापति थापाका अनुसार लामिछानेले भनेका छन्, ‘म संस्था (गोरखा मिडिया नेटवर्क)को प्रबन्ध निर्देशकका रूपमा संस्थामा सामान्य रूपमा दैनन्दिन प्रशासकीय, आन्तरिक काममा संलग्न रहेको थिएँ । कार्यकारी प्रमुखको रूपमा आर्थिक स्रोत जुटाउने लगायतका कामहरू जीबी राईले गर्ने गरेका थिए । कहाँबाट, कसरी रकम प्राप्त भयो ? भन्नेबारे जीबी राईलाई थाहा हुने भयो । त्यो थाहा पाउन उनैलाई सोध्नुपर्छ ।’ लामिछानेभन्दा अगाडि शुक्रबार नै छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको थियो ।
सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसदमा प्रश्न उठेपछि गत जेठ १५ गते प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन भएको थियो । एमालेका सूर्य थापाको नेतृत्वमा गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।