२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

कहिले रोकिएला मानव बेचबिखन ?

ADV
२०८१ भदौ ९ गते ०६:२५
कहिले रोकिएला मानव बेचबिखन ?

–सुशील दर्नाल 

रामेछापकी ४० वर्षीय चमेली लामा (नाम परिवर्तित) गत साल विदेश जाने निर्णय गरिन् । तर, दलालले भारत हुँदै कुवेत पुर्‍याउँछु भनेर भारतको वेश्यालयमा पुर्‍यायो । तर, भाग्यवश उनले केही सहयोग पाइन । जसको प्रतिफल उनी अहिले नेपाल फर्किएकी छिन् । अहिले उजेलीको जीवन फेरिएको छ । दलालको लैलैमा लागेर विदेश जाने जाने प्रलोभनमा परी चमेली जस्तै धेरै नेपाली चेलीहरूको बिचल्ली भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार एक बहु आयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्याको रूपमा रहेको छ । यद्यपि, सूचना, सञ्चार प्रविधिको विकाससँगै यसको स्वरूप फेरिएको छ । त्यसमा पनि अशिक्षित, विपन्न वर्गलगायत महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसार बढी मात्रामा हुने गरेको छ । मानव बेचबिखन तथा ओसारपसारको कार्यलाई समाजको एक जघन्य अपराधको रूपमा लिने गरिन्छ । नेपाल सरकारले मानव बेचबिखन उन्मूलनका लागि न्यूनतम मापदण्ड पूर्ण रूपमा पुरा नगरे तापनि त्यसतर्फ उल्लेखनीय प्रयास भने गरिरहेको छ । वैदेशिक कामदारहरूलाई शोषणबाट जोगाउन सरकारले केही उपायहरूसहित नेपाली वैदेशिक कामदारहरूलाई छनौट शुल्क र सम्बन्धित खर्च भुक्तानी गर्न दिँदै आएको छ । साथै, मानव बेचबिखन रोकथामका लागि सरकारले सचेतनका कार्यक्रम गर्नुका साथै विभिन्न नाकामा कडाइ गर्दै आएको छ । 

सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनलाई कार्यान्वयन गर्न सक्दो प्रयास गरिरहेको छ । एकातिर नेपाल प्रहरीले विशेष अप्रेसन नै बनाएर काम गरिरहेको छ भने अर्कोतिर सरकारका विभिन्न अङ्गहरूले पनि कडाइपूर्वक कार्य गरिरहेका छन् । यस्ता घटनामा जिल्ला तहका अदालतहरूले पनि द्रुत गतिमा मुद्दाहरू टुङ्ग्याएका छन् । तर, पनि मानव बेचबिखन रोकिएको छैन । यसमा न्यूनीकरण आउन सकेको छैन ।

नेपालमा सङ्घीयताको बहालीपश्चात् केही पालिकाहरूले बेचबिखनविरुद्धका स्थानीय समन्वय समितिहरू गठन गरेका छन् । यद्यपि, बेचबिखनविरुद्धका स्थानीय समन्वय समितिहरू कानुनद्वारा अनिवार्य गरिएका थिएनन् र तिनले राष्ट्रिय स्तरबाट कोष प्राप्त गरेनन्, जसका कारण बेचबिखनविरुद्ध राष्ट्रिय स्तरभन्दा तलका कामहरू सीमित भए । 

आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलङ्क हो । अशिक्षा र रोजगारीको अवसर नहुँदा मानिस बेचबिखनको सिकार भएका छन् । घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान् र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन् । 

हिंसामा परेकाहरू सधैँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडै त्यस्ता दलालको पन्जामा पर्छन् । रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ । 

व्यक्तिगत तवरबाट आफू सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने, शङ्कास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने र चोक, चौतारा पसलमा समेत मानव बेचबिखन विरुद्ध छलफल एवम् बहस सञ्चालन गर्नेलगायतका कार्य गरिनु आवश्यक छ ।

सामूहिक रूपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने, मानव बेचबिखनविरुद्ध क्रियाशील सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने, पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनर्स्थापनाका लागि क्रियाशील रहने, मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ । 

बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ । विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्दछ । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरूलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ । समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ । भारतीय सीमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसँग मिलेर निगरानी प्रभावकारी बनाउनुका साथै अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise