२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चुनावबाट पदाधिकारी चयन गर्ने एकीकृत समाजवादीको निर्णय

ADV
लेखनाथ सिकारु
२०८१ भदौ १० गते २१:१९
चुनावबाट पदाधिकारी चयन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो ।

पदाधिकारी चयनका लागि  निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।

पदाधिकारीसहित सर्वसम्मत गराउने प्रयास असफल भएपछि केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब दिँदै आएका थिए ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार विहान ७ बजे मनोनयनपत्र वितरण गरिनेछ । बिहान ७. ३० देखि ८.३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मंगलबार बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले बताए  ।

निर्वाचन प्रकृयाबाट १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् ।

एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको  एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी रहनेछ। असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीले १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपनि र्पदाधिकारी पोलिटव्युरो र केन्द्रिय सदस्यहरु छान्नलाई लामो समय खर्चेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise