२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सत्तारुढलाई धक्का : माओवादीमा फ्लोर क्रस

ADV
शिव विक
२०८१ जेठ २९ गते ०७:००
सत्तारुढलाई धक्का : माओवादीमा फ्लोर क्रस

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ । 

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।  

विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।

देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भएको भएतापनि उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डेले विश्वासको मत पाएका हुन् ।

देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् । उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको हो । 

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक थियो । सोहीअनुसार उनले मत पाए । देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए । तर, पाण्डेलाई विश्वासको मत पुग्न नदिने नीति तत्कालका लागि असफल हुन पुगेको छ ।

अब फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गरेता पनि पाण्डेलाई राप्रपाले साथ दिँदा विश्वासको मत पुग्छ । देवकोटा कारबाहीमा परे ५९ सदस्य प्रदेश सभा हुन्छ । जसको बहुमतका लागि ३० सांसद चाहिन्छ । जो कांग्रेसका पाण्डेसँग सुरक्षित रहनेछ । 

यो सँगै संघीय सत्तागठबन्धनमा रहेका दलहरु गण्डकी प्रदेशमा आफू अनुकुलको सरकार बनाउन असफल भएका हुन् । संघीय सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रकै सांसद देवकोटाले फ्लोर क्रस गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सघाएपछि संघीय सत्तारुढलाई धक्का लागेको हो । 

सांसद देवकोटा भने प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताउँछन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले १५/१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको बताए ।

‘पछिल्लो चरण हामी माननीयलाई थाहा नै नदिइ संख्या गणना गरेर सरकार फेरबदल हुनेतिर गयो । त्यसपछाडि गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदैछ ।’

त्यसका बाबजुद आफूले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भए पनि सरकार नजोगिएको उनले बताए । उनले भने त्यसका लागि राप्रपा आउनुपर्थ्यो, आएन ।’ 

तर अहिले निर्णायक रहेका पार्टीहरूले पनि साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको उनले बताए । उनी भन्छन्, ‘गण्डकी प्रदेश सभा बचाउनु मेरो दायित्व सम्झेर मैले पार्टीी केन्द्र र प्रदेशको निर्णय मुताविक मत दिएको हुँ ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise