२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विदेश पठाइदिन्छु भन्दै तीन सय बढी व्यक्तिलाई ठग्ने तीन जना पक्राउ

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते १५:११
विदेश पठाइदिन्छु भन्दै तीन सय बढी व्यक्तिलाई ठग्ने तीन जना पक्राउ

काठमाडौं : वैदेशिक राेजगारीका लागि अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्सलगायतका देशमा पठाइदिन्छु भन्दै १५ करोड हाराहारीमा ठगी गरेकाे अभियाेगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । नवीन चौधरीसहित १५ जना पीडितहरूकाे सामुहिक उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूले तीन सय जनाभन्दा बढी युवायुवतीलाई अमेरिका, न्यजिल्यान्ड, कम्बोडिया, फ्रान्सलगायतका देशमा वैदेशिक राेजगारीका लागि पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गरेको प्रहरीले  बताएको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका नविन बिक र पोखरा महानगरपालिकाका पवन पन्त रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारीको प्रलोभन देखाएर उनीहरुले विगत ४ वर्षयता ३ सय जनाभन्दा बढीलाई ठगी गरिरहेका खुलेको बताए । एक जनाबाट ५ देखि १० लाखका दरले रकम उठाएको देखिएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले उनीहरुले फेसबुक म्यासेन्जर, ह्वट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर वैदेशिक रोजगारीका भन्दै नक्कली विज्ञापन गरी ठगी गरेको हालसम्मको अनुसन्धानमा देखिएको बताए ।

ठगी गिराेहले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गर्न लगाइ, चेकमार्फत निकाल्न लगाएर, विभिन्न व्यक्तिलाई दिन लगाएर ठगी गर्ने तरिका अपनाएको पनि प्रहरीले बताएकाे छ ।

पछिल्ला महिनामा अमेरिका, क्यानडा ,न्युजिल्यान्डसहित युरोपेली मुलुकमा आकर्षक तलब सुविधाको वैदेशिक राेजगारीका लागि भन्दै अस्वभाविकरूपमा ठूलो रकम ठगी भएका उजुरी वैदेशिक राेजगार विभागमा पर्ने गरेका छन् । केही दिनअघि  यस्तै ठूलो अंकको  वैदेशिक रोजगार ठगीमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पक्राउ परेका थिए । 

उनीहरूले पनि युरोपेली मुलुकको वैदेशिक राेजगारीकाे नाममा तीन सय ३७ जनाबाट ५ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेकाे उजुरी परेको थियो । विभागले वैदेशिक राेजगार न्यायाधिकरणमा दर्ता गरेको मुद्दा विचाराधीन छ । तामाङद्वयले युरो विइङस एजुकेसन कन्सल्ट्यान्सी नामको संस्थाको आडमा वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याण्डलगायत देशमा पठाइदिन्छौं भन्दै झुटो प्रलोभन देखाएर उक्त रकम ठगी गरेकाे प्रहरीले बताएको छ । न्यायाधिकरणले माग गरेको धराैटी नबुझाएपछि तामाङद्वय पुर्पक्षका लागि जेल चलान भएका छन् । तर चर्को व्याजमा ऋण लिएर वैदेशिक राेजगारमा जान खाजेकाहरु पैसा कहिले फिर्ता पाउँछौं भन्दै विभाग धाउने गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise