२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सहकारी छानबिन : रविलाई दोषी देखाउने प्रयास

ADV
भावना पाठक
२०८१ भदौ १९ गते ०६:४०
सहकारी छानबिन : रविलाई दोषी देखाउने प्रयास

काठमाडौं : सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । प्रारम्भिक प्रतिवदनको भाषामाथि समिति सदस्यहरू राय/सुझाव लिइरहेका छन् । 

प्रारम्भिक प्रतिवेदन तयार पारेको सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिले बुधबार कानुन व्यवसायी, अधिवक्ता लगायतसँग छलफल गर्दैछ । बुधबार दिउँसो दुई बजे सिंहदरवारमा समितिको बैठक बोलाइएको छ ।

समिति सदस्यहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारीको रकम अपचलनमा संलग्नता रहेको वा नरहेको विषयमा किटान गर्ने वा नगर्ने छलफलमा संसदीय छानबिन केन्द्रित भएको छ । 

छानबिन समितिले यही भदौ ७ गते लामिछानेसँग सोधपुछ गरेको थियो । समितिले लामिछानेसँग १० घण्टा सोधपुछ गरेको थियो । त्यसपछि नै समिति प्रतिवेदनलाई अन्तिम रुप दिने गृहकार्यमा रहेको छ । 

समिति सदस्यहरूका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहे/नरहेकोबारे प्राप्त तथ्य/प्रमाणहरूको विश्लेषण भइरहेको छ । प्रारम्भिक प्रतिवेदनमा यो विषयमा दुई अर्थ लाग्ने भाषा र दोषी किटान गर्ने विषय एकसाथ लेखिएको छ । 

छानबिन समितिले सहकारी संस्थाहरूको बचत र ऋण प्रवाहको अवस्थाबारे जानकारी लिएको थियो । सहकारी सञ्चालक, बचतकर्ता र कैयौँ सहकारीबाट ऋण लिएको भनिएको गोर्खा मिडिया नेटवर्कका व्यवस्थापकसँग सोधपुछ गरेको थियो ।

समिति सभापति थापाका अनुसार दुई सय वटा सहकारीको नमुनाबाट समग्र सहकारीको समस्यालाई हेर्ने कोसिस गरिएको छ । उनका अनुसार त्यसआधारमा प्रतिवेदन लेखिनेछ । 

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्य थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिले आफ्नो काम जेठ २२ गतेबाट सुरुवात गरेको थियो । तीन महिनाको समय पाएको समितिको भ्याद यही भदौ २२ गते सकिँदै थियो । तर, बुधबार मात्रै प्रतिनिधि सभाले छानबिन समितिको म्याद १५ दिन थप गरिदिएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताए । 

तर काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने बताए ।

सहकारी बचतकर्ताको बचत रकम सुरक्षाका हेतु प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय माग गर्ने भनेर समितिको बैठकबाट निर्णय समेत भएको बताए । यसआधारमा १५ दिन समय थप गरिदिन थापाले प्रतिनिधिसभा समक्ष प्रस्ताव राखेका थिए ।

उनले भनेका छन्, ‘सहकारी बचतकर्ताको बचत रकमको सुरक्षाको हेतुले प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र त्यसको पनि पुनःपुष्टिको कार्य भइरहेको छ । थप १५ दिन समय भए प्रतिवेदन तयार पार्न सकिन्छ ।’ 

थापा नेतृत्वको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise