२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनताको गुनासो नआउने गरी काम गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २० गते २१:१०
जनताको गुनासो नआउने गरी काम गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सबै खाले सरकारले सुनवाइ गर्नुको विकल्प नभएको बताएका छन् । 

गृह जिल्ला अर्घाखाँचीमा शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाले आयोजना गरेको  छुट्टाछुट्टै सम्मान तथा अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहमा हुने ढिला सुस्तीबारे नागरिक तहबाट हुने गुनासोलाई स्थानीय सरकार  प्रदेश सरकार संघीय सरकारले तत्काल  सुनुवाइ गर्नुपर्छ भन्ने उदाहरणका लागि लुम्बिनी प्रदेश सरकारले शुरुवात गरेको बताएका हुन् ।

मुख्यमन्त्री आचर्यले शितगंगा नगरपालिकामा निर्माण कार्यमा ढिलाइ भइ अलपत्र रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ज्योति बहुमुखी क्याम्पसको भवनको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए ।

आचार्यले प्रदेश सरकार अन्तर्गत रहेका सबै मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका सरकारी कार्यालयहरुमा अनिवार्य रुपमा गुनासो पेटिका राख्ने  नीतिगत निर्णय  गरिएको  बताए । 

यस्तै उनले नगरपालिका वडा कार्यालय र स्थानीय सरकार मातहतमा रहेका सबै सरकारी कार्यालयहरुमा पनि गुनासो पेटिका राखी प्रत्येक दिन जनताको  गुनासो बुझेर त्यसको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधि कर्मचारीलाई आग्रह गरे । 

मुख्यमन्त्री आचार्यले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका सबै ठाउँ र जिल्लाभर कालोपत्रे गर्ने अर्घा भगवती विमानस्थल निर्माणका लागि पहल गर्ने जिल्ला अस्पतालको स्तरोन्नति गर्ने लगायतका कामहरुलाई तिव्रता दिने बताए । 

उनले अर्घाखाँचीका सबै स्थानीय तहमा समानुपातिक रुपमा बजेट विनियोजन गरेको बताए । उनले अर्घाखाँची जिल्लामा २ अरब ५ करोड रुपैयाँ पुँजीगततर्फको बजेट विनियोजन गरेको बताए । 

आचार्यले खानेपानीको समस्या समेत प्रदेशभर समस्या समाधान गरेको बताउँदै अर्घाखाँचीको विकासमा फड्को मार्ने गरी काम गर्ने बताए । अब असार मसान्तसम्म कुर्नु नपर्ने बताउँदै गुणस्तरीय काम गर्न निर्माण व्यवसायिलाई अनुरोध गरे । काम छिट्टो गर्ने र भुक्तानी लिने कामसँगै गर्नुपर्नेमा उनको जोड थियो । 

भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना निर्माण, उपभोक्ता समितिको नाममा काम लिने र ठेकेदारमार्फत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पाँच लाख माथिका योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने र प्रदेश सरकारले नागरिक तहमा बढ्दै गएको निरासाहरुलाई चिर्दै आशामा बदल्ने गरी विकासको मुल फुटाउन खोजेको उनले जिकिर गरे ।

प्रदेश सरकारले रिक्त कर्मचारीको दरबन्दी फुलफिल गर्ने योजना बनाएको बताउँदै मुख्यमन्त्रीले झण्डै २ हजार कर्मचारी लोकसेवामार्फत पदपूर्ति गर्ने प्रक्रिया शुरु भएकोले कर्मचारीको अभाव नहुने बताए । अर्घाखाँची जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले  अरवौ रकम विनियोजन गरेको बताए । उनले सन्धिखर्क हुदै गच्छेभालुङ  सडक निर्माणलाई छिट्टो सम्पन्न गरी प्रदेश राजधानी सन्धिखर्कबाट ३ घण्टामा पुग्ने गरी काम अगाडि बढाएको बताए । प्रदेश सरकार ऋणमा रहेको बताउँदै त्यो ऋण चुक्ता गर्नका लागि पनि काम छिटोभन्दा छिटो गर्ने र भुक्तानी लिने तिर लाग्न आग्रह गर्दै उनले पुरक बजेट ल्याउने कुनै सम्भावना नरहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise