–झलक शर्मा
बदलिँदो समयअनुरूप नेपाली सार्वजनिक यातायातमा राइड सेयरिङको अवधारणा लोकप्रिय बनेको छ । निजी मोटरसाइकल तथा ट्याक्सी/कार चालक आफ्नो कार्य क्षेत्रमा जाँदा अप्ठ्यारोमा परेका यात्रुलाई गन्तव्यमा पु¥याइ दिने सेवाको रूपमा राइड सेयरिङलाई लिइन्छ । सार्वजनिक यातायातको सुविधा नभएको, साँघुरा गल्ली, अपरिचित ठाउँमा पुग्न मोबाइल एप्लिकेशनमार्फत राइड सेयरिङको सहायता लिने गरेको पाइन्छ । यसले राइड सेयरिङकर्तालाई आफ्नो यात्रामा हुने खर्चमा सन्तुलन तथा मितव्ययिता अपनाउन र सेवा प्रदान गर्ने अवसर पनि प्राप्त हुने गर्छ । राइड सेयरिङ सेवातर्फ विशेषगरी युवा वर्गहरू बढी आकर्षित छन् । राइड सेयरिङले नेपाली युवालाई रोजगारीको अवसर दिलाउँदै पर्याप्त आयआर्जन गर्नमा समेत सहयोग गरेको छ । युवाहरूको एउटा समूह विदेश पलायन हुनबाट केही हदसम्म रोकिएको छ ।
सार्वजनिक यातायातको अस्तव्यस्तता, झन्झटिलो, लापरबाहीको उपजले नै राइड सेयरिङले स्थान पाएको छ । ट्याक्सी सेवा महँगो र सबै स्थानमा सहजरूपमा पाउन कठिन भएको देखिन्छ । नेपाली सार्वजनिक यातायात क्षेत्रमा केही बेथितिका च्याङहरू छन् । त्यसमा पनि नगर तथा उपत्यकाहरूमा गुड्ने नगर यातायातको बेथितिहरू तुलनात्मकरूपमा बढी छन् । नगर तथा उपत्यकाहरूमा चल्ने सार्वजनिक यातायात किन यति धेरै अप्रभावकारी बन्यो भन्ने एउटा गम्भीर प्रश्न खडा हुन सक्छ । नगर बसहरूले कुनै नियम मान्दैनन्, व्यवहार, बोली रुखो, अनुशासनको परिपालना छैन । समयको महत्वलाई नबुझ्ने, सेवामुखीभन्दा बढी व्यवसायीमुखी, तोकिएको भाडादर भन्दा पनि बढी भाडा उठाउन वा असुल्न खोज्ने प्रवृत्ति छन् । नगर बसले तोकिएको क्षमता भन्दा बढी यात्रु चढाउने, यात्रुलाई भेडा बाख्रा सरह मान्ने, खचाखच कोच्ने तर, यात्रु झार्ने क्रममा रिसाउने, फरक स्थानमा लगी झार्ने जस्ता कार्यबाट यात्रुहरू दिक्क मान्ने गरेको पाइन्छ । महिला संवेदनशीलताको ख्याल गरेको पाइँदैन । उल्टै द्विअर्थी तथा अश्लील शब्दको प्रयोग गर्ने जस्ता व्यवहारहरू हाम्रै आँखा अगाडी देखि रहेको पाइन्छ । दुर्व्यवहार बारे बोले उल्टै तनाव र झन्झट व्यहोर्नु पर्ने अवस्था आउन सक्छ भनी चुपचाप यात्रा गर्नुपर्ने अवस्था छ । यिनै यावत समस्याको माझ काठमाडौं उपत्यका लगायत अन्य सहरहरूमा राइड सेयरिङ सेवा फस्टाउँदो छ । काठमाडौं उपत्यकामा त पुराना प्रकृतिका माइक्रो बस, ट्याम्पो विस्थापित गर्न नै सकिएको छैन । जुन क्षेत्रमा अत्यधिक यात्रुको भिड हुन्छ त्यस्ता ठाउँमा सानो प्रकृतिका गाडीहरू सञ्चालन भइरहेका छन् । साँझको समयमा नगर बसमा सिट पाउन मुस्किल हुन्छ । यात्रुको भिड, सडकको संरचना, बस्ती विकासलाई पूर्वानुमान नगरी सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रुले धेरै नै सास्ती व्यहोर्नु परेको छ ।
राइड सेयरिङ सेवामा समस्या हुँदै नभएको भने होइन । तत्कालीन सहजताका लागि राइड सेयरिङ ग्रहण गर्न सकिएता पनि यसको नियमन हुन नसक्ने हो भने यस सेवामा पछि विकराल आउनेमा दुई मत छैन । कतिपय राइडरहरूले राइड सेयरिङलाई नै पेसाको रूपमा अवलम्बन गरेका छन् । विगतमा अपनाइरहेका पेशा रोजगारी त्यागी राइड सेयरिङ गर्ने परिपाटी देखा परेको छ । राइड सेयरिङमा धेरै व्यक्ति आबद्ध हुँदा देशमा सेवामूलक कार्यमा मात्र सक्रिय रही उत्पादनमुखी कृयाकलापमा तथा अन्य पेसामा जनशक्ति कमी हुने समेत अनुमान गर्न सकिन्छ । व्यक्तिहरूको सृर्जनात्मक कृयाकलापमा ह्रास आउने आकलन गर्न सकिन्छ । सडकमा ट्राफिक जाम हुने, पार्किङमा समस्या हुने गरेको पाइएको छ । धेरै पैसा कमाउने लोभले तीव्र गतिमा मोटरसाइकल तथा ट्याक्सी चलाउँदा सवारी दुर्घटना समेत हुने गरेको छ ।
यस्तै, ट्राफिक नियमको उल्लंघन गर्नेको संख्यामा पनि वृद्धि भएको छ । सवारी साधनको चापमा वृद्धि हुँदा सडकमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको छ । सहरका मुख्य चोक, स्थानमा अनावश्यक भिडभाड हुने हुँदा चोरी डकैती तथा शान्ति सुरक्षा कायम राख्नसमेत जटिलता थपिएको छ । आजभोलि केही राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकले आपसी मूल्य निर्धारण गर्ने व्यवस्था मिलाउने वा एप्लिकेशनमा नै यात्रामा लाग्ने भाडादर तोकिएता पनि यात्रुलाई अप्ठ्यारो पर्ने बाटोमा पु¥याई बढी पैसा असुल्ने प्रवृत्ति देखा परेका छन् । अनलाइन राइड सेयरिङ राइडरहरूले केही नियममा बाँधिएका त हुन्छन् । अफलाइन राइड सेयरिङ गरि यात्रु ओसार्ने काम पनि भइरहेका छन् । चोक वा बाटोमा बसेर यात्रुलाई सहमतिमा ल्याउने र पैसाको मोलमोलाइ गर्ने गरेको समेत देखिन्छ । यस्तो कार्यले यात्रुको जीउधनको सुरक्षामा चुनौती देखा पर्ने गरेको छ ।
महिलालाई प्रलोभन देखाउने, यौन दुर्व्यवहार, बलात्कारका घटना घट्ने गरेका छन् । त्यस्तै, महिलाको गोपनीयतालाई खोतल्ने, जिस्काउने प्रवृत्ति राइड सेयरिङमा पनि देख्न थालिएको छ । यात्रुलाई तर्साउने, बाटो तथा सार्वजनिक यातायातको रुट बारेमा गलत जानकारी दिने, अनविज्ञ यात्रुलाई बढी पैसा असुल्न खोज्ने गलत अभ्यासले स्थान ओगट्न थालेको छ । सेवा प्रदायक संस्था, कम्पनी त्यसमा आवद्ध राइडरहरू बिच बेलाबखतमा विवाद पनि भएको छ । कति प्रतिशत सेवा प्रदायक संस्थाले लिने र कति प्रतिशत राइडरले पाउने एउटा वैज्ञानिक मूल्य निर्धारण सरकारी तवरबाट हुनु जरुरी छ । कर नतिरी व्यवसाय सञ्चालन भइरहँदा पनि राज्य अझै पनि मौन छ ।
राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याउन नसक्दा सार्वजनिक यातायात व्यवसायी र राइड सेयरिङबिच बारम्बार विवाद देखा परिरहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८(१) मा निजी सवारी सार्वजनिक यातायात सेवाका लागी प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था छ । ऐनकै दफा १२ मा कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी साधन अर्को प्रयोजनमा लगाउन पाइने छैन भन्ने कुरा उल्लेख छ । तर, यसै ऐनको दायरामा रही काठमाडौं उपत्यकामा राइड सेयरिङ सेवा दिँदै आएका कम्पनीविरुद्ध पाटन उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिट माथि सुनुवाइ गर्दै उच्च अदालतले सम्बन्धित निकायलाई व्यवस्थित गर्न आवश्यक कानुन तर्जुमा गर्न आदेश दिएको थियो । त्यसपश्चात् विभिन्न प्रदेशले आ–आफ्नो ऐन बनाई यसलाई व्यवस्थापन गर्ने प्रयत्न गरेका छन् । तथापि, गण्डकी प्रदेशमा भने यस्तो प्रकृतिको ऐन बनाउन लाग्दा सार्वजनिक यातायात व्यवसायीहरूले विरोध जनाउँदै गएको साउन १३ गते उक्त प्रदेशभर यातायात बन्द गरेका थिए । व्यवसायीहरूको मागका बारेमा अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भए पछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।
निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्ने कुरा सरकारको नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेख भएको छ । सार्वजनिक यातायात प्रदेशको अधिकार क्षेत्रमा पर्ने भएकोले यसको सञ्चालन व्यवस्थापनमा प्रदेश सरकारले मनन् गर्नु पर्ने देखिन्छ । राइड सेयरिङ र नगर बस दुवै सेवालाई प्रभावकारी बनाउन राज्यले विद्यमान कानुनको समयानुकूल संशोधन तथा परिमार्जन गर्नुपर्छ । सडक सञ्चालन र यातायात प्रणालीलाई प्रभावकारीरूपमा विस्तार गर्ने, चक्लाउने एवम् व्यवस्थापन गर्ने कार्यलाई जोड दिनु आवश्यक छ । यात्रुलाई कुनै दुःख कष्ट नहोस् भनी सार्वजनिक यातायातलाई मितव्ययी र सुविधा सम्पन्न बनाउनु जरुरी छ । सार्वजनिक यातायात सञ्चालनको पूर्वानुमान, सडकको प्राथमिकीकरण, सडक तथा सवारी साधनको अनुगमन तथा मूल्यांकन, राइड सेयरिङ सम्बन्धी छुट्टै मापदण्ड एवम् कानुनी व्यवस्था गर्न सके भावी दिनमा सार्वजनिक यातायात व्यवसायी र राइडरबिच आपसी मनमुटाब हुने सम्भावना नै रहन्न । राइड सेयरिङको सेवा प्रयोगकर्ता र नगर यातायात प्रयोगकर्ताले व्यहोरेको समस्या, व्यथा, कष्ट तथा प्राप्त गरेको सुविधाको विश्लेषण गरी राज्य वा प्रदेश सरकारले सो बमोजिमका योजना, नियमहरू तय गर्नु आवश्यक छ ।
सार्वजनिक यातायातका चालक तथा सहचालकलाई अनुशासन, नैतिकता र व्यवहारिक ज्ञान सम्बन्धी तालिमको व्यवस्था गर्नु पर्दछ । समावेशी सिटहरू राजधानीमा मात्र नभई अन्य सहरी क्षेत्र एवम् ग्रामीण भेगमा महिला, अपाङ्ग एवम् अशक्त, ज्येष्ठ नागरिक सिटको व्यवस्था गर्नु जरुरी छ । सडक मर्मत, सम्भार एवम् विस्तार, नगर बस चल्ने रुटको स्पष्टता र समय तालिका, सवारी साधनमा सिसी टिभीको व्यवस्था, शान्ति सुरक्षाको ग्यारेन्टी प्रत्याभूत गर्न सकेको खण्डमा नगर बसमा यात्रु आकर्षित हुन सक्छन् । अहिले नागरिकले चाहेको सेवालाई विस्थापित गरी पुरानै तवरबाट सार्वजनिक यातायात सञ्चालन गर्नु कदापि हुँदैन । राइड सेयरिङलाई नियमन गरी र यातायात व्यवसायीको समन्वयता कायम गरी अगाडी बढ्नु आवश्यक छ । राइडरको अनुभव, मोटरसाइकल तथा ट्याक्सीको पाट पुर्जा एवम् भौतिक अवस्था र त्यसको परीक्षण, राइड सेयरिङ र नगर बसको रुट र समय, अफलाइन राइड सेयरिङ गर्नबाट रोक, राइडर र कम्पनीबिचको मापदण्ड, बाइकका लागी बाटो इजाजत अनुमति पत्र, राइडरले मोबाइल एप चलाउन सक्ने प्राविधिक क्षमतालाई मूल्याङ्कन गरी राइड सेयरिङ सेवालाई व्यवस्थित गराउनु सरकारको दायित्व समेत रहेको छ । सार्वजनिक यातायात देशलाई समृद्धिको बाटोमा लम्काउने महत्वपूर्ण पूर्वाधारको रूपमा रहेको यसमा देखा परेका समस्यालाई समाधान गर्दै नयाँ आधुनिक सेवालाई आत्मसात् गरी सञ्चालन गर्नु आवश्यक छ ।