–ज्योतिलाल वन
चीन, उत्तर कोरिया, भियतनाम र लावोसले आधिकारिक रूपमा कुनै धर्म मान्दैनन् । यी बाहेक अन्य देश विशेषले धर्म नमान्ने भनि घोषणा नगरे पनि संसारका अधिकांश (खासगरी विकसित मुलुकका) जनताहरू क्रमशः धार्मिक आस्थाबाट विमुख हुँदै गएका छन् ।
वर्ल्ड पपुलेशन सर्वे २०२३ अनुसार संसारका अधिकांश देशमा कुनै पनि धर्म नमान्ने जनताहरू निकै ठूलो संख्यामा रहेका छन् र यो संख्या दिनानुदिन बढ्दै पनि छ । यस्ता देशहरूमध्ये (घोषितरूपमै धर्म नमान्ने भनेका बाहेक) मुख्य छ देशमा धर्म नमान्ने जनताको प्रतिशत उच्च छ । जापानमा ८६ प्रतिशत जनताले धर्म मान्दैनन् भने डेनमार्क ८० प्रतिशत जनताले धर्म मान्दैनन् । यस्तै, स्वीडेन ७८ प्रतिशत, चेक गणराज्य ७५ प्रतिशत, ब्रिटेन ७२ प्रतिशत, नर्वे ७२ प्रतिशत, हंगेरी ४१ र सं.रा. अमेरिकामा ४० प्रतिशत रहेका छन् ।
यस्ता देशहरूले धार्मिक अन्धविश्वासका विरुद्ध आधिकारिक किसिमले कुनै गतिविधि गरेका छैनन् । यिमध्ये कतिपयले कुनै धर्म विशेषलाई आफ्नो राष्ट्रिय धर्म बनाएका छन् भने कतिपय धर्मनिरपेक्ष रहेका छन् । तथापी निरन्तर हुँदै आएका वैज्ञानिक अविष्कारहरू, विज्ञान प्रविधिको उच्चतम विकास, इतिहास, समाज र मानवशास्त्रमा वस्तुपरक र गहन किसिमल निरन्तर हुँदै आएका अनुसन्धान, अन्वेषण र खोजहरू आदिजस्ता प्रयास र अध्ययन मनन् कै कारण मानव समाजमा विज्ञान र वस्तुपरक चेतना विकास हुँदै गयो र त्यस्ता देशका जनताहरूको मन मस्तिष्कबाट स्वतः धार्मिक अन्धताप्रतिका विश्वासहरू हट्दै र घट्दै गए ।
तथापी, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकरूपमा पिछडिएका अधिकांश अल्पविकसित मुलुकहरूमा भने धर्मभिरु र अन्धविश्वासग्रस्त जनताहरूको संख्या निकै ठूलो छ । त्यसको एउटा ज्वलन्त उदाहरण नेपाल पनि हो ।
वि.सं. २०६२/६३ को जनआन्दोलनपश्चात नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यस व्यवस्थालाई नियमन गर्न नेपालको संविधान २०७२ जारी गरियो र यसमा नेपाललाई धर्मनिरपेक्ष देश भनेर घोषणा पनि गरियो । तर, यो संवैधानिक व्यवस्था देखावटी औपचारिकताभन्दा बढी बन्न सकेन । यहाँको परम्परागत धार्मिक र सांस्कृतिक परम्पराहरू यथास्थितिमा यथावत मात्रै रहेनन् बरु यी विकृति र विसंगतिसहित झन् बढ्दै आए । राष्ट्रिय जनगणना २०७८ ले ल्याएको नतिजा यसको एउटा ज्वलन्त उदाहरण हो । सो जनगणनाअनुसार नेपालमा हाल हिन्दू ८१.१९ प्रतिशत, बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत र इसाई १.७६ प्रतिशत रहेका छन् । यस प्रकार नेपालमा कुनै सांम्प्रदायविशेषमा आधारित धर्म मान्ने जनताहरू ९९.४२ प्रतिशत र प्राकृतिक धर्म मान्ने ०.३५ रहेको देखाइएको छ । यस तथ्याङ्कले त नेपालमा ०.२३ प्रतिशत मात्र कुनै धर्म नमान्ने जनता रहेको भन्ने जाहेर हुन आउँछ ।
विगत ३५ वर्षदेखि आफूलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अनुयायी रहेको भनी बखान गर्ने व्यक्तिहरू नेपालको राज्यसत्तामा सामेल हुँदै आएका छन् । त्यसमाथि विगत १६ वर्षयता त अधिकांश समय यिनले राज्यसत्ताको नेतृत्व सम्हाल्ने अवसर नै पाएका छन् । तर, दुःखद बिडम्बना यिनले धार्मिक अन्धविश्वासको अन्धकारमा रुमलिएको नेपाली समाजभित्र विज्ञान र वस्तुपरक चेतनाको प्रकाश प्रवाह गर्ने थोरै पनि प्रयास गरेनन् । बरु सत्ता लोलुपताको कुत्सित स्वार्थबाट ग्रसित बनेका यिनिहरू त स्ययम् अन्धविश्वासको खाडलमा जाकिए र यस्तो अन्धतालाई ‘देशको मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन’ को नाम दिएर कथित धार्मिक विकार तथा विकृतिहरूलाई अझै प्रोत्साहित गर्नमा तल्लीन बन्दै आए । यसै कारण यो स्थिति बनेको हो भन्दा अत्युक्ति हुने छैन ।